काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलवारबाट देशव्यापी दवावमूलक अभियान सुरु गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटी ज्ञापन पत्र बुझाउँदै राष्ट्रवादी जनसंघर्ष सुरु भएको घोषणा गरेका छन ।
उनले प्रधानमन्त्री ओलीलाई २२ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएपछि सहयोग र एक्येबद्धताको लागि अपिल समेत गरेको छ ।
त्यसैगरी सातै प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रजिअमार्फत सरकारलाई मागपत्र बुझाएको नेत्री कुन्तिदेवी पोखरेलले जानकारी दिएकी छिन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै सो अभियान सुरु गरेको हो ।
फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ ।
पार्टीले अध्यक्ष कमल थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट पदयात्रासहित माइतीघर मण्डलामा पुगेर कोणसभा गरी अभियान शुभारम्भ गरेको थियो ।
फागुन १५ देखि ३० गतेण्सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको नेता बुद्धिमान तामाङले कोणसभामा बताएका थिए ।
हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षणको माग गरेको छ ।
त्यसैगरी पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय