काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको चर्को आलोचना भएको छ ।
विहिवार सिंहदरवारमा बसेको बैठकमा सांसद अमरेश कुमार सिंहले सभापति पोखरेलको चर्को आलोचना गरेका छन ।
सभापति पोखरेलकी पत्नी सहकारी ठगीमा परिरहेसम्म र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकार सफल नभएसम्म लेखा समिति बैठक नबस्ने खतरा रहेको सांसद सिंहको भनाई रहेको छन ।
गत भदौ ९ गते बसेको लेखा समितिको बैठकमा समिति सभापति पोखरेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौताका सम्बन्धमा घिसिङलाई कारबाही गर्नकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई लेखिपठाउने निर्णय वाचन गरेका थिए ।
यसैबीचमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएको थियो ।
समिति सभापति पोखरेलले यी दुई कारणले लेखा समितिको बैठक नबोलाइएको सांसद सिंहले बताए ।
’सार्वजनिक लेखा समितिका सभापतिले कुलमानलाई हटाउन खोज्यो, हटाउन सकिएन । त्यसपछि समितिको बैठक नै बसेको छैन,’ भदौ ९ को बैठकमा भएका गतिविधि उल्लेख गर्दै सिंहले भने, ’सभापतिले होटलमा लेखेको निर्णय समितिबाट पास गर्न सकेन । लेखेर निर्णय ल्याएको थियो कि कुलमानलाई कारबाही गर्नका लागि सीआईबी, सम्पत्ति सुद्धिकरण र अख्तियारलाई लेखेर पठाउने । हामीजस्तो मान्छेले त्यस्तो निर्णय गर्न दिन्छ भन्ने लागेको थियो सभापतिलाई ।’
घिसिङलाई कारबाही गर्नका लागि विभिन्न निकायमा लेखेर पठाउने निर्णय आफूहरूलाई भदौ ६ गते नै दिएको पनि सिंहले बताए । ’तीन दिन अगाडि निर्णय हातमा दिएको थियो र समिति सचिवालयको कम्प्युटर पनि प्रयोग भएको थिएन । पेनड्राइभमा ल्याएर प्रिन्ट मात्रै समितिमा गरिएको थियो,’ सिंहले भने, ’त्यो निर्णय पारित गर्न नसकेदेखि लेखा समिति बन्द छ । जबसम्म कुलमान हट्दैन र जबसम्म सभापतिको श्रीमती सहकारी ठगीमा परेको छ तबसम्म लेखा समिति चल्दैन ।’
सिंह लेखा समिति सदस्य हुन् । संघीय निजामती सम्बन्धि विधेयकमाथिको छलफलमा संशोधनकर्ताको हैसियतमा छलफलमा सहभागी भएका सांसद सिंहले लेखा समिति सभापतिले बैठक नराखेको भनेर आलोचना गरेका हुन् ।
Categorized in राष्ट्रिय