काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्बाट राजीनामा दिएर निर्वाचनमा होमिएका मन्त्रीहरूका बारेमा स्पष्टीकरण दिएकी छिन ।
सोमबार पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेनजी) को ठूलो दबाबका कारण उनीहरूलाई मन्त्रिपरिषद्मा सहभागी गराइएको खुलासा गरिन ।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ताले हालै पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन ।
सरकारमा सहभागी भएका उनीहरू राजनीतिमा लाग्ने पूर्वसहमतिअनुसार नै बिदा भएको प्रधानमन्त्रीको भनाइ छ ।
‘हामीलाई थाहा थियो उनीहरूको रुचि केमा छ भन्ने,’ प्रधानमन्त्रीले संसद्मा भनिन, ‘विशेषगरी जेनजी को प्रेसरमा उनीहरू सरकारमा आएका हुन । मन्त्री बन्नुअघि नै उनीहरूले चाहेका बेला जान पाउने सर्त राखेका थिए, सोहीअनुसार मैले बिदाइ गरेकी हुँ ।’
प्रधानमन्त्री कार्कीले निर्वाचनमा होमिएका पूर्वमन्त्रीहरूलाई बेइमानीको आरोप नलगाउन समेत आग्रह गरिन । उनीहरूले केवल ‘चिया खाएर’ काम गरेको र राज्यको दोहन नगरेको संकेत गर्दै उनले सबै दोष आफूले लिने बताइन ।
‘खासमा दोष लगाउने हो भने मलाई लगाउनुस, उनीहरूलाई नलाउनुस्,’ उनले थप स्पष्ट पारिन, ‘मैले सरकार बनाउने बेला नै वचन दिएकी थिएँ— जुन दिन तपाईंहरू जाने हो, म बिदाइ गर्छु । उनीहरूले बेइमानी गरे भन्नु बेकार छ ।’
प्रधानमन्त्रीका अनुसार राजीनामा दिएर हिँडेका ती पूर्वमन्त्रीहरूसँग हाल सरकारको कुनै सम्पर्क छैन । ‘उनीहरूको आफ्नै जीवन र संस्कार छ, उमेर पनि छ । उनीहरूले आफ्नो बाटो रोजे,’ उनले भनिन ।
Categorized in राष्ट्रिय