१२ भाद्र २०८३, शुक्रबार
Header

रसुवा बाढी अपडेटः ६०२ जनाको हवाई उद्धार, २७ तीर्थयात्रीसहित सयौं सम्पर्कविहीन


प्रकाशित: विहिवार, ११ भाद्र २०८३, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । 


नेपाली सेनाले बिहीबार दिउँसो साढे ३ बजेसम्म भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरेको जनाएको छ । 


उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेका छन ।  सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे, मैलुङलगायत क्षेत्रबाट हवाई उद्धार गरिएको हो । यस्तै, सेनाले जमिनमार्फत थप २०० जनाको उद्धार गरेको जनाएको छ ।


बाढी प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूको उपचारका लागि त्रिशूलीस्थित छाउनी अस्पतालबाट डाक्टरसहितको मेडिकल टोली परिचालन गरिएको छ । सेनाका अनुसार हालसम्म ३३८ जनाको उपचार भइरहेको छ ।


खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरिएको छ । उद्धार तथा राहत कार्यमा ४ हजार २०० भन्दा बढी नेपाली सेना खटिएका छन । 


रसुवाको बाढीका कारण तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित क्षेत्रको उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले एसएसपीको नेतृत्वमा थप जनशक्ति परिचालन गरेको छ ।

 
थप प्रहरी टोलीलाई उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनमा खटाइएको छ ।


यसैबीच, रसुवाको भोटेकोशी बाढीपछि खोटाङका केही व्यक्ति सम्पर्कविहीन भएका छन । 


जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन र ऐसेलुखर्क गाउँपालिकाका चार जनासहित कम्तीमा सात जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।


धादिङबाट गोसाइँकुण्ड गएका आठ जना शिक्षक पनि बुधबारदेखि सम्पर्कविहीन छन ।  शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार सम्पर्कविहीनमध्ये तीन जना कार्यरत र पाँच जना पूर्वशिक्षक हुन ।

 
त्यसैगरी, रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङको नीलकण्ठ नगरपालिका क्षेत्रका २७ जना तीर्थयात्री र बस चालकसमेत सम्पर्कविहीन भएका छन । उनीहरू बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन । 


धादिङबेँसीबाट तीर्थयात्री लिएर रसुवातर्फ गएको बा ५ ख १२५० नम्बरको बस नुवाकोटको बेत्रावती पुगेपछि सम्पर्कविहीन भएको बताइएको छ । बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए ।


प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्र अवलोकन


यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । उनले प्रभावित बस्तीको भौतिक अवस्था र क्षतिको अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग उद्धार र राहतबारे छलफल गरेका छन । 


बाढी प्रभावित परिवारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । 


संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।


विदेशी नागरिकको खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पनि आपत्कालीन प्रतिकार्य टोली (ईआरटी) गठन गरेको छ । 


मन्त्रालयका अनुसार ईआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्नेछ ।


मन्त्रालयले विदेशी नागरिकसम्बन्धी सूचना संकलन, सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउने जनाएको छ ।


बेपत्ता वा प्रभावित विदेशी नागरिकबारे जानकारी भए ईआरटीको आपत्कालीन हटलाइनरह्वाट्सएप नम्बर ९७७–९७४४४४१२२७ र ९७७–९७४४४४१२२८ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । दोस्रो नम्बरमा बिहान ७ बजेदेखि राति १० बजेसम्म सम्पर्क गर्न सकिने जनाइएको छ ।


बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार, राहत तथा बेपत्ताको खोजी कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex