८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रसुवा बाढीः १८ जना बेपत्ता, दुई जनाको हेलिकप्टरबाट उद्धार, गाडी तथा जनधनमा ठूलो क्षति


प्रकाशित: मंगलवार, २४ असार २०८२, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा मंगलबार बिहान करिब ३ बजे आएको भीषण बाढीका कारण हालसम्म १८ जना बेपत्ता भएका छन ।


सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना सुरक्षाकर्मी, ६ जना चिनियाँ नागरिक र अन्य नेपाली नागरिक तथा गाडी चालकहरू छन । 


बेपत्ता हुने सुरक्षाकर्मीको विवरणः


प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ


प्रहरी जवान मुन्ना ठाकुर


प्रहरी जवान लोकेन्द्र बोहोरा


तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।


बेपत्ता चिनियाँ नागरिकहरूः


यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ, जोउ योङ


अन्य बेपत्ता नागरिकहरूः


बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान, लोकमान तामाङ, जसमध्ये लामा, मोक्तान र तामाङ गाडी चालक हुन । 


त्यस्तै, रसुवाकै उत्तरगया गाउँपालिका–५, उत्तरगयाधामको खोला किनारमा एक व्यक्तिको दाहिने खुट्टा फेला परेको डिएसपी थापाले जानकारी दिए । 


घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ । 


भन्सार क्षेत्रमा १ सय बढी गाडी बगे


रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा करिब १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।

 
नेपाल इन्टरमोडलर यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बगेका सवारीमध्ये अधिकांश मालवाहक थिए ।


‘यार्डमा करिब २३० वटा सवारी पार्किङ गरिएको थियो,’ गजुरेलले भने, ‘केही गाडी समयमै माथिल्लो क्षेत्रमा सारिएको जानकारी पनि आएको छ।’ प्रारम्भिक अनुमान अनुसार विद्युतीय ९भ्ख्० गाडीहरूमा तुलनात्मक रूपमा कम क्षति भएको छ ।


नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार कुन कुन ब्राण्डका गाडी बगेका हुन् भन्ने तथ्यांक संकलन भइरहेको छ । 


‘सरकारसँग समन्वय गरी विस्तृत विवरण संकलनको काम भइरहेको छ,’ उनले बताए।


त्रिशूलीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार


यसैबीच, नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका पाल्देन तामाङ (६७) र उनकी पत्नी मंगली तामाङ )६२) लाई त्रिशूली नदीबाट हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । 


नेपाली सेनाका अनुसार उनीहरू सोमबार राति त्रिशूली किनारमा दाउरा काट्न गएका बेला आकस्मिक बाढीले जोखिममा परेपछि रुख चढेर ज्यान जोगाएका थिए ।


उद्धारका लागि सेनाको एमआई–१७ र एक्वेरल हेलिकप्टर प्रयोग गरिएको थियो ।


धादिङमा दुई शव फेला, चिता बगायो बाढी


त्रिशूली नदीको बहाव तीव्र भएका कारण धादिङको चरौंदी नजिकै अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ । बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा बिहान ५ बजे निधन भएका व्यक्तिको दाहसंस्कार गर्दै गर्दा चिता नै बाढीले बगाएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिए ।


त्यस्तै, धादिङकै त्रिशूली नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई शव फेला परेका छन । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


स्थिति गम्भीर, उद्धार तथा तथ्य संकलन जारी


हाल घटनास्थलमा विभिन्न निकायका सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालित छन । 


क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex