काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाले २ लाख नगदसहित सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा महानगर प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुराइगाई र सामाजिक विकास समितिका संयोजकसहितका अधिकारीहरूको उपस्थिति थियो ।
सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेल उपलब्धिले नेपालको शिर उचाल्ने बताउँदै भविष्यमा पनि खेलाडीलाई निरन्तर सम्मान गरिने प्रतिबद्धता व्यक्त गरे ।
सम्मानपछि ढाँटले आफूलाई थप हौसला मिलेको बताउँदै अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य दोहोर्याए ।
यसैविच महानगरपालिकाले उक्त अवसरमा प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई पनि ११/११ लाख रुपैयाँ (जम्मा २२ लाख) सहित सम्मान गरेको छ ।
खोखोको पुरस्कार रकम नेपाल खोखो संघले व्यवस्थापन गर्नेछ । खोखो विश्वकपमा पुरुष टोलीले फाइनलमा भारतसँग ५४–३६ र महिला टोलीले ७८–४० को अन्तरले पराजय बेहोरेका थिए । यो कुनै पनि टिम खेलमा नेपालले विश्वकप फाइनल खेलेको पहिलो अवसर भएको थियो ।
सरकारका मन्त्रिपरिषद् बैठकल ेढाँटलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
साथै, ढाँटका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ दिने निर्णय भएको छ ।
बझाङका ढाँटले गत शनिबार भारतको नोएडामा भएको एमएफएन १७ मा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै उपाधि जितेका थिए ।
यो जितसँगै उनको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने उनी यो उपाधि जित्ने पहिलो नेपाली बनेका छन ।
Categorized in पालिका