काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज भएको छ ।
शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ ।
सांसद खरेजभएसँगै उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि मुक्त भएका छन ।
उनले नेपाल नागरिकता पुनस्प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन ।
गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए ।
२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको नागरिकता निकालेका लामिछाने रोजगारीको सिलसिलामा अमेरिका पुगेका थिए । त्यसपछि २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गरेका थिए ।
२०७१ जेठ २२ मा उनी अमेरिकी राहदानी प्रयोग गरेर पहिलोपटक गैरपर्यटक –नाता) भिसामा नेपाल आए र पुनः विदेश गएका उनी दोस्रोपटक २०७२ वैशाख २८ मा नेपाल आए ।
त्यसको १६ औं दिनमा उनले कायम नरहेको पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली राहदानी बनाए ।
नेपाली राहदानी बनाएपछि पनि उनी अमेरिकी पासपोर्ट नै प्रयोग गरेर विदेश आउजाउ गरेको अध्यागमनको रेकर्डमा देखिन्छ ।
यता सर्वोच्चको फैसला लगत्तै उनका कार्यकर्ताले नाराबाजी गरेका छन ।
उनीहरूले ‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाएका थिए । नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च बाहिर रविका समर्थकले नाराबाजी गरेपछि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू उच्च सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका थिए ।
Categorized in राष्ट्रिय