काठमाडौं । राजावादी आन्दोलनमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र हाजिर जमानतमा रिहा भएका छन ।
सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका हुन ।
हिरासतमुक्त भएका मिश्रले आफूले राज्यले आरोप लगाए जस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको जिकिर गरेका छन ।
यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनस्र्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’
शुक्रवार बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको थियो ।
१५ चैतमा भएको राजावादी आन्दोलनमा २ जनाको मृत्यु, २० जना प्रहरीको गोली लागेर घाइते, सार्वजनिक र निजी सम्पत्ति तोडफोड भएपछि प्रहरीले सोही दिन बेलुकी उनीसहित सांसद् धवलशमशेर राणालाई समेत पक्राउ गरेको थियो ।
तत्काललाई आफू हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा नरहेको समेत उनले बताए ।
Categorized in राष्ट्रिय