काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुतिरहेको भनिएको फोटो समाजिक सञ्जालमा भाईरल भएको छ ।
प्रहरीले सो विषयको वास्तविकता बुझ्न अनुसन्धान अघि बढाएको जनाएको छ । भाइरल फोटो रास्वपा सभापति लामिछानेको हो कि होइन प्रहरीले पुष्टि गरिसकेको छैन ।
यो फोटोको वास्तविकता र खिच्ने तथा पोस्ट गर्ने व्यक्तिको खोजी भइरहेको र उक्त व्यक्तिको पहिचान भए कानुन अनुसार कार्वाही हुने प्रहरीले जनाएको छ ।
यता डा. निकोलस भुसालले भने उक्त तस्बिर रवि लामिछानेकै भएको र आफूले खिचेको दाबी गर्दै समाजिक सञ्जालबाट माफी मागेका छन ।
‘रवि दाइलाई भेटिसकेपछि पुलिसकै अगाडि मैले उक्त फोटो खिचेको हो, रवि लामिछानेको अवस्था के छ भनेर म स्वास्थ्य जाँच गर्न गएको थिएँ,’ भुसालले एक भिडिओमा दाबी गरेका छन्, ‘रवि लामिछानेको अवस्था देखाउन पनि मैले यो तस्बिर फेसबुकमा पोस्ट गरेको थिएँ।’
आफूले पुस ६ गते आन्दोलन गरौं भन्दै दुई दिनअघि नै उक्त फोटो फेसबुकमा राखेको र पछि हटाएको दाबी पनि उनको छ ।
साथै उनले बिहीबार फेसबुकमा स्टाटस पोस्ट गर्दै हिरासतमा रहेका भनिएका व्यक्तिको फोटो आफूले खिचेको र गल्ती भएको बताएका छन् ।
रास्वपा सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि उनलाई अनुसन्धानको लागि कास्की लगिएको थियो ।
Categorized in समाज