१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

रबि लामिछाने पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन, कसले– के भने ?


प्रकाशित: शनिवार, ०३ कातिक २०८१, १८ः१० बजे
- महानगरखवर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।


शनिवार पार्टीका कार्यकर्ताहरुले दिउँसो १ बजे माइतीघरमा प्लेकार्ड, व्यानरसहित बृहत प्रदर्शन गरेका हो ।


सहकारी ठगी प्रकरणमा शुक्रवार सभापति लामिछानेलाई अनुसन्धानका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कस्की लगेपछि काठमाडौंमा उक्त प्रदर्शन भएको हो ।  

 


प्रदर्शनमा उत्रेका कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको बताएका छन । 


उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गर्दै विरोध प्रदर्शन ‘प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए ।

 


रवि पक्राउ परेको सन्दर्भमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रतिक्रिया दिएका छन ।


उनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन । 


प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई छुट दिन नमिल्ने बताए।

 


पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे । 


त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा नसिकने बरु अझै बलियो र शक्तिशाली भएर आउने बताएकी हुन । 


उनले रास्वपालाई सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी समेत दिएकी छिन ।  


शनिबार कास्कीमा आयोजित विरोध कार्यक्रममा उनले सो कुरा बताएकी हुन । 


‘प्रधानमन्त्री ज्यू, रवि लामिछानेलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला। सकिँदैन १ अझै ठूलो हुन्छ, अझै शक्तिशाली हुन्छ। अझै बलियो हुन्छ। जति हामीलाई जिस्काउनुहुन्छ त्यति नै बलियो भएर आउछौं। जति हामीलाई चिढ्याउनु हुन्छ त्यति अझै शक्तिशाली भएर आउँछौं, कार्कीले भनिन । 


प्रतिनिधसभाका सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराइएको छ ।


सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिवार जारी सूचनामा सो बारे उल्लेख गरेको बताएको छ । 


चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।


नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex