काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु बर्षको मूल्य बृद्धि सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७४/०७५ को ११ महिनामा मूल्यबृद्धि ४.१ प्रतिशत पुगेको छ । गत वर्षको यही अवधिमा मूल्यवृद्धि २.८ प्रतिशत थियो ।
राष्ट्र बैकले खाद्य वस्तुको मूल्य बढ्दा अघिल्लो वर्षको तुलनामा मुद्रास्फिती बढेको जनाएको छ । जेठ मसान्तमा खाद्य वस्तुतर्फको मूल्यवृद्धि ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खाद्य वस्तुको मूल्य १ प्रतिशतले मात्र बढेको थियो ।
चालु वर्षमा भने गैर खाद्य वस्तुको मूल्यवृद्धि ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस समूह अन्तर्गतको शिक्षा, लत्ताकपडा तथा जुत्ता, फर्निचर तथा घरायसी उपकरण र घरायसी सामानलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर खाद्य मूल्यवृद्धि कम हुन गएको हो । गत बर्ष ५.८ प्रतिशत मुल्य बृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार क्षेत्रगत आधारमा हिमालमा ६.४ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, तराईमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत मूल्यवृद्धि रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा १.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.१ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत रहेको थियो ।जेठसम्ममा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक ६.३ प्रतिशतले वृद्धि भएको छ राष्ट्र बैंकले उल्लेख गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो सूचकाङ्क १५.० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकांकमा ९.४ प्रतिशत र ज्यालादर सूचकांक ५.५ प्रतिशतले वृद्धि भएको छ ।
Categorized in बजार