काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ ।
अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले सोमबार आफ्नै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा आयोजित एक प्रत्यक्ष सत्रमा बोल्दै यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताएका थिए ।
यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ । ‘यो एउटा किरा लागेको स्याउ मात्र होइन, किरैकिरा लागेको डल्लो मात्र हो भन्ने प्रस्ट भइसक्यो,’ मस्कले भनेका छन्, ‘हामीले सम्पूर्ण चिजबाट छुटकारा पाउनुपर्छ । यो सुधार्नै नसक्ने अवस्थामा छ । हामी यसलाई बन्द गर्दै छौं । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौं ।’
मस्कको घोषणासँगै यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यूएसएआईडी विदेश मन्त्रालयअन्तर्गत ल्याइएको र आफू कार्यवाहक प्रशासक भएको बताएका छन् । यूएसएआईडीको जनशक्तिमा भारी कटौती गरिने र मानवीय सहायता एजेन्सीका रूपमा रहने ट्रम्प प्रशासनले जनाएको छ ।
१९६१ नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले स्थापना गरेको यूएसएआईडी १ सय ७६ भन्दा बढी देशमा काम गर्दै आएको छ । यसले खासगरी विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।
5 Ferbury 2025, Wednesday
Categorized in अन्तर्राष्ट्रिय