काठमाडौँ । यातायात व्यवसायीले मध्यम दुरीका सवारीका लागि बसपार्कका सम्बन्धमा समेटेर महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई ३ बुँदे सुझावसहित प्रतिवेदन बुझाएका छन ।
काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन अनुसार सुझावको पहिलो बुँदामा राष्ट्रिय यातायात व्यवसायी महासंघले मध्यम दुरीका सवारीका लागि बसपार्कका सम्बन्धमा राखेको विषयलाई समेटेको छ ।
यसमा भनिएको छ, ‘तत्काल यात्रुवाहक सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट दैनिक रुपमा सवारी साधन सञ्चालनमा ल्याउने ।’
खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क ०७८ बैशाख १६ बाट बन्द गरेर महानगरले सहरी यातायातलाई ‘पिक एण्ड ड्रप’ प्रणालीबाट र मध्यम दुरीका सवारीलाई नयाँ बसपार्क गोङ्गबुबाट सञ्चालन गर्न अनुरोध गरेको थियो ।
महानगरको यो आग्रहपछि राष्ट्रिय यातायात व्यवसायी महासंघले नयाँ बसपार्क मध्यम दुरीका सवारी सञ्चालनका लागि अपायक हुने भन्दै हाललाई खुल्ला मञ्च नै उपलब्ध गराउन निवेदन दर्ता गरेको थियो ।
व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको महानगरको ६५ औँ कार्यपालिका बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
समितिको सदस्यहरुमा कार्यपालिका सदस्यहरु नवराज पराजुली, चिनियाँमान बज्राचार्य, ख्यामराज तिवारी र चिनीकाजी महर्जन रहेका छन । महानगरका निर्देशक ध्रुवकुमार काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाह र प्रहरी निरीक्षक दामोदर सिलवालले सहजीकरण गरेका थिए ।
प्रतिवेदन बुझाउँदै समितिका संयोजक खड्गी श्रेष्ठले, सरोकारवालासँग गरिएको कुराकानी, स्थलगत भ्रमण अवलोकन र सहरी आवश्यकतालाई अध्ययनको आधार बनाइएको बताईन ।
तत्कालका लागि गरिने समाधानसँगै संघ र प्रदेश सरकारको सहयोग तथा लागत सहभागितामा सवारी साधनको प्रकृतिअनुसार यात्रुवाहक बस, मालबाहक ट्रक र मालबाहक ठूला कन्टेनरका लागि छुट्टाछुट्टै टर्मिनल बनाएर सञ्चालन गर्नुपर्ने हाम्रो सुझाव छ ।
संयोजक खड्गी श्रेष्ठले दिगो व्यवस्थापनका लागि ‘काठमाडौँ उपत्यकाका सबै पालिका, काभ्रेका धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा यातायात व्यवसायीसहित सरोकारवालाको सहभागितामा यातायात कम्पनी स्थापना गरेर कम्पनीमार्फत दीर्घकालीन योजना सञ्चालन गर्नु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख रहेको बताईन ।
प्रतिवेदनमा, काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रीत भएर चलेको तथ्याङ राखिएको छ ।
Categorized in स्थानिय