ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउँदै आइरहेको उपाकलं सायाः नृसिंह जात्रा यसपालि आउँदो भाद्र १५ गते शुक्रबार मनाइने भएको छ । ललितपुरका राजोपाध्यायहरुको उपाकर्म गुठीबाट वर्षेनि मनाईंदै आएको यस जात्रा यसपालि पनि आउँदो भाद्र १५ गते शुक्रबारका दिन धुमधामका साथ मनाइने गुठीले जनाएको हो ।
ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने यो जात्रा यसपालि ललितपुरका पट्को टोल निवासी ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायज्को घरबाट संचालन हुन लागेको हो । पालोवालाकै घरबाट जात्रा शुरु गरी त्यहिँ सम्पन्न गर्ने परम्परा अनुसार यसवर्षका पालोवाला ७८ वर्षिय ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायको घर पट्कोबाट जात्रा शुरु हुने र नृसिंह भगवानलाई ललितपुरको सायाः रुटमा परिक्रमा गराई पट्कोमै पुगेर सम्पन्न हुने गुठीले जानकारी दिएको छ ।
ललितपुरमा नरसिंहका दुइ रुप पाइन्छ । कार्तिक नाचका नृसिंहलाई उग्र रुपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावका नृसिंहको रुपमा लिइन्छ । विश्व शान्तिको कामना गर्दै मनाइने यो जात्रा सफलतापूर्वक सम्पन्न भएमा देशलाई दैवीप्रकोप आदिबाट रक्षा हुने, रोगव्याधीबाट भक्तजनहरुको रक्षा हुने, यस नरसिंहको दर्शन मात्रले पनि बालबालिकालाई रुन्चे लागेको वा अन्य रोग लागेको भएपनि सो निको हुने जनविश्वास समाजमा रहिआएको छ ।
जात्रा पालोवालाको पुरोहित अथवा ज्वाइँ अथवा भान्जा नरसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः रुटमा परिक्रमा गराउने चलन रहेको छ । यस वर्ष पनि जात्रामा धिमेय् बाजा, भजन समूह लगायत विभिन्न झाँकिको साथमा जात्रा धुमधामका साथ मनाइने गुठीले जनाएको छ ।
यस जात्राको ३८७ वर्षसम्मको ऐतिहासिक प्रमाण फेला परिसकेको छ । तर यो जात्रा यसभन्दा अघि नै संचालन भइसकेको र यस भन्दा अगाडिका ऐतिहासिक प्रमाणहरु समयको कालखण्डमा विभिन्न घटनाक्रममा मेटिएको वा मेटाइएको हुनसक्ने गुठीको दावी रहेको छ ।
Categorized in समाज