यसपालीको ईन्द्रजात्रा त सम्पन्न भएको छ तर, दशअवतारबारेमा आम जनमानसमा चर्चा सकिएको छैन । दशअवतारको यसपालीको प्रदर्शन अनियमित र अव्यस्थित तरीकाको प्रस्तुति पनि शंका आशंकाका बीच भयो । कलाकारहरुको असन्तुष्टिको चर्चाका बीच यसपाली दशअवतारको निरन्तरमा आशंकाको स्थिती बनेको हो ।
गएको शुक्रबार ईन्द्रजात्रा सम्पन्न भयो । नानिचायाःमा महिलाहरुबाट किलागल क्षेत्रबाट कुमारी, गणेश र भैरवको रथ तान्नुका साथै हनुमानढोका, कालभैरव अगाडि उठाइएको यःसिँ ढालिएसँगै यसपालीको ईन्द्रजात्रा सम्पन्न भयो । सो दिन यसपालीको अन्तिम पटक दशअवतार प्रदर्शन त भयो, तर केही ढिला शुरु भयो । ढिलासम्म पनि शुरु नहुँदा सोदिन पनि दश अवतार प्रदर्शन नहुने हो कि भन्ने शंका उपस्थित जनमानसमा उब्जिसकेको थियो ।
सो दिनमा विद्यालयबाट आएका दशअवतारका कलाकारहरुलाई पारिश्रमिकको व्यवस्थापन गर्दैगर्दा प्रदर्शनी केही ढिला हुन गएको दशअवतार कलाकार समूहले बताए । कलाकार नवीन शाहिले यसपाली विद्यार्थी कलाकारहरुलाई रु. एक हजार पारिश्रमिक उपलब्ध गराइएको बताउनुभयो । ‘गएको वर्षमा रुं ५ सय पारिश्रमिक दिइएकोमा यसपाली हामीले रु.एक हजार दिएका छौं’ शाहिले जानकारी दिनुभयो, ‘गुठीबाट उपलब्ध हुनुपर्ने रकम अहिलेसम्म उपलब्ध भएको छैन । तर दुःख गरी आएका कलाकार भाईहरुलाई हामी दशअवतार प्रदर्शन तथा प्रबर्ध्दन समाजका कलाकारहरु आफैले पारिश्रमिक दियौं ।’
गुठीबाट यसपाली दशअवतार प्रदर्शनका लागी रु. ८० हजार उपलब्ध गराउने प्रतिवद्धता जनाइएपनि अहिलेसम्म पुरा रकम प्राप्त नभएको पनि कलाकार समूहले जनाएको छ । आर्थिक पक्षमा केही असन्तुष्टिका विषय रहेपनि आफुहरुको समस्या आर्थिक मात्र नभएको कलाकार राजेन्द्र श्रेष्ठले बताउनुभयो । ‘दशअवतार प्रदर्शनका लागी विभिन्न विद्यालयबाट आउने कलाकारहरुको पनि पारिश्रमिक, खाजाको व्यवस्थाको कुरा छ, दशअवतारका पोशाक, अलंकार आदिको सुरक्षित भण्डारणका कुराहरु छन्’ कलाकार श्रेष्ठको भनाई थियो, ‘भुकम्पपछि भारतबाट ल्याइएका सम्पूर्ण सामग्री हाम्रो मौलिकता नभएको भारतीय शैलीको भएकोले हाम्रै मौलिकता झल्किने नयाँ सामग्रीहरु नै बनाउनुपर्ने पनि देखिन्छ ।’
यसपाली ईन्द्रजात्राको तेश्रो र पाँचौ दिन दशअवतार प्रदर्शन हुनसकेन । त्यसैगरी ईन्द्रजात्राको रथ जात्रा शुरु हुने चौथो दिन दिउँसो रथजात्रा शुरु हुँदा प्रदर्शन गरिनुपर्नेमा बेलुकीको समयमा मात्र प्रदर्शन गरियो । गुठीको अव्यवस्थित कार्यशैलीका कारण नै यसपाली दशअवतार प्रदर्शनीमा समस्या भएको कलाकार समूहको भनाई छ ।
उचित व्यवस्थापनका लागी गुठीका अध्यक्ष साथै ईन्द्रजात्रा व्यवस्थापन समितिका उपाध्यक्ष दीपकप्रसाद श्रेष्ठसँग पनि छलफल चलिरहेको र सांसदबाट पनि यसको दीगो व्यवस्थापनका लागी पहल गर्ने प्रतिवद्धता आइसकेको दशअवतार कलाकार साथै दशअवतार प्रदर्शन तथा प्रबर्ध्दन समाजका पर्यवेक्षक राजन शाहीले बताउनुभयो । यसभन्दा अघि प्रदेश ३ का सांसद् राजेश शाक्यको उपस्थितीमा दशअवतारका समस्याका बारेमा पत्रकार र संस्कृति क्षेत्रका अभियन्ताहरुबीच छलफल भइसकेको छ ।
Categorized in समाज