काठमाडौँ । काठमाडौँमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको मुख्य विधिअन्तर्गत आज बिहान यःसिं (इन्द्रध्वज) ठड्याइएको छ ।
बिहान ७ बजेर ४७ मिनेटको साइतमा हनुमानढोका कागेश्वरी मन्दिरनजिक कालभैरव अगाडि यःसिं ठड्याइएको हो । यो सँगै येँयाः जात्रा सुरु भएको छ ।
यःसिं ठड्याउने विधिमा आठ वटा काठका टुक्रा राख्ने परम्परा छ । अष्टमातृकाको प्रतीकका रूपमा राखिने यी काठका टुक्रालाई ‘लाकासिँ’ भनिन्छ । उक्त विधिमा न्हय्स नाय र चसाद्वँ टोलका मानन्धर समुदायका गुठियारको अनिवार्य सहभागिता रहने परम्परा छ ।
यःसिं ठड्याउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको थियो। तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडा ल्याइएको थियो भने ‘दिप्याखं’ अर्थात देवी नाच पनि प्रस्तुत गरिएको थियो। इन्द्रजात्रामा प्रस्तुत गरिने पहिलो नाचका रूपमा दिप्याखंलाई लिइन्छ ।
यःसिं ठड्याइसकेपछि त्यसको माथि इन्द्र अंकित ध्वजा ‘हलिंपता’ फहराइएको छ । हलिंपता फहराएपछि मानन्धर समुदायले सबैभन्दा पहिले पूजा गर्ने चलन छ ।
यःसिंको माथिल्लो भागमा गजुरजस्तो देखिने ‘भोगटे’ राखिन्छ भने फेदमा इन्द्रको सुवर्ण मूर्ति राख्ने परम्परा छ। श्रद्धालुले उक्त मूर्तिको पूजा तथा आराधना गर्ने गर्छन ।
यःसिं ठड्याउने समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, वडाध्यक्षलगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा श्रद्धालुको बाक्लो उपस्थिति थियो ।
यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितीयाका दिन मानन्धर समुदायका गुठियार यःसिं लिन वनतर्फ प्रस्थान गरेका थिए । सोही दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन गरिएको थियो ।भोलिपल्ट यःसिं भोटाहिटी ल्याइएको थियो ।
आश्विन ३ गते ञलाथ्व कायाअष्टमीका दिन बिहान ८ बजेर ५ मिनेटको साइतमा यःसिं नगर प्रवेश गराइएको थियो। सोही दिनदेखि किलाघःमा दिप्याखं अर्थात देवी नाच सुरु भएको थियो । एकादशीका दिन चसाद्वँ टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्ने विधि ‘वलः घायेगु’ सम्पन्न गरेका थिए ।
वलः घायेगु यःसिं उठाउनुअघि गरिने जटिल विधि हो । यसरी डोरी र गाँठो बाँध्ने व्यवस्था गरिन्छ कि यःसिं ठड्याइसकेपछि माथि नचढीकन तलैबाट गाँठो फुकाल्न सकियोस । यःसिं ठड्याइसकेपछि देवतासरह मानिने भएकाले त्यसको माथि चढ्न नहुने धार्मिक मान्यता रहेको छ ।
आजै नेवाः समुदायले दिवंगत आफन्तको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउँदैछन । यसै अवसरमा गणेश र भैरवलाई कुमारी घरमा ल्याई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र प्रवेश गराई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिने परम्परा छ ।

यःसिं हालको स्थानमा ठड्याउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि रणबहादुर शाहको पालादेखि हनुमानढोका क्षेत्रमा ठड्याउन थालिएको विश्वास गरिन्छ । त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअगाडि यःसिं ठड्याउने गरिएको जनविश्वास छ । यःसिंलाई उल्लास, विजय र उत्सवको प्रतीकका रूपमा लिइन्छ ।
आश्विन ९ देखि रथयात्रा
इन्द्रजात्राको मुख्य आकर्षण श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा हो। यस वर्ष मुख्य रथयात्रा आश्विन ९ गते शुक्रबारदेखि सुरु हुनेछ ।
पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराई पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ ।
पहिलो दिनको रथयात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसहित विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । रथयात्रापछि ‘दाँगी’को नगर परिक्रमा गराउने परम्परा छ। दाँगीलाई इन्द्रदेवकी आमाका रूपमा मानिन्छ । वर्षभरिमा दिवंगत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ ।
आश्विन १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । त्यस्तै, आश्विन १३ गते मंगलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने परम्परा छ ।
इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिता रहँदै आएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार विगत १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तान्ने कार्य हुँदै आएको छ। सोही दिन राष्ट्रपति स्वयं उपस्थित भई कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा छ ।
हेरौं रुटयात्राः



तीन दिनका रथयात्राका मार्ग
तल्लो टोलको रथयात्रा वसन्तपुर, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, ज्याबहाल, कोहिटी, भीमसेनस्थान, मखन हुँदै पुनः वसन्तपुर पुगेर सम्पन्न हुनेछ ।
माथिल्लो टोलको रथयात्रा वसन्तपुर, प्याफल, यटखा, नरदेवी, टेंगल, न्यौखा, न्हेकन्टोल, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन र हनुमानढोका हुँदै वसन्तपुर पुग्नेछ ।
नानीचाया रथयात्रा भने वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलाघः, भेडासी, इन्द्रचोक, मखन र हनुमानढोका हुँदै वसन्तपुर पुग्नेछ ।
रथयात्राका क्रममा स्थानीय क्लब तथा संस्थाले देवीदेवताका रथको स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाउनेछन्। तीनै दिनको रथयात्रामा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरवसमेत सहभागी हुने परम्परा छ ।
इन्द्रजात्राका क्रममा देवी नाच, महाकाली नाच तथा दशावतार प्रदर्शनलगायतका सांस्कृतिक गतिविधि पनि सञ्चालन हुनेछन ।
जात्रा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ भने सुरक्षा, स्वयंसेवा तथा अन्य व्यवस्थापनमा स्थानीय समुदाय, क्लब र संस्थाको समेत भूमिका रहनेछ ।
इन्द्रजात्राका क्रममा हनुमानढोकास्थित श्रीश्वेत भैरवको मुखबाट प्रसादस्वरूप जाँड खुवाउने परम्परा पनि रहिआएको छ । जात्रा अवधिभर विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच तथा पूजा सञ्चालन हुनेछन ।
Categorized in सम्पदा/संस्कृति