काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाउँदै बस्नेतसहति उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हो ।
बिहीबार अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रकरणमा पूर्वसञ्चार मन्त्री समेत रहेका बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ ।
अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्रविरुद्ध मुद्दा दायर गरेको हो।
त्यसैगरी, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र दिपेश आचार्य एवं उपनिर्देशक सन्दिप अधिकारी, परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमल अनौती, सोही कम्पनीका स्थानीय प्रतिनिधि दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलविरुद्धसमेत मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
टेरामक्सको विषयमा तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गएर एकल रूपमा निर्णय गरी कार्यान्वयनका लागि निर्देशन दिएको पनि अख्तियारको भनाइ छ ।
बस्नेतको संसद पद स्वतः निलम्बन
भ्रष्टाचार मुद्दा लागेको बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।
भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।
तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।
प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।
Categorized in राष्ट्रिय