काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जेष्ठ नागरिकलाई महानगर विशेष भत्ता बाड्ने अभियानमा लागेका छन ।
मेयर शाक्यले सोमबार काठमाडौं महानगरपालिका वडा २७ स्थित महाबौद्धका जेष्ठ नागरिकहरुलाई विशेष भत्ता वितरण गरेको छ ।
भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष चिनियाँमान बज्राचार्यलाई मेयर शाक्यले रकम हस्तान्तरण गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
शाक्यले जेष्ठ नागरिकको सम्मान, हेरचाहसँगै उनीहरुको खुसीको लागि मनोरन्जन पार्क, निःशुल्क यात्राको व्यवस्था लगायतका महानगरले काम गरिरहेको जनकारी दिए ।
सो वडामा ७५ बर्ष उमेर पूरा भएका महिला र ८० बर्ष उमेर पूरा भएका पुरुष जेष्ठ नागरिकलाई जनही १२ हजार रुपैयाँ प्रदान गरिएको छ । यो भत्ता पाउने जेष्ठ नागरिकको संख्या वडामा ३९१ रहेको छ । वडागत रुपमा हेर्दा यो संख्या सबैभन्दा बढी हो ।
यसमा ७६ पुरुष र ३१५ महिला रहेका छन । वडामा आउन सक्नेलाई वडाबाट र आउन नसक्नेलाई घरमै गएर भत्ता रकम उपलब्ध गराइँदै आएको वडा अध्यक्ष बज्राचार्यले बताए ।
वडामा आउने जेष्ठ नागरिकलाई भने निःशुल्क स्वास्थ्य परीक्षण पनि गर्ने गरिएको छ ।
Categorized in समाज