काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मुद्दाकै कारण काठमाडौं महानगरपालिकाको केन्द्रिय भवन निर्माण गर्न नसकेको बताएका छन ।
सोमवार महानगर प्रमुख शाक्यले कामपा २१ वडा भवनको शिलान्यास गर्ने क्रममा सो कुरा बताउँदै भने, ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ ।’
वडा भवनहरु निर्माण हुने तथा केही निर्माण भएर काम पनि सुरु भईसकेको तर केन्द्रिय कार्यलय भने मुद्दाको कारण रोकिएको प्रमुख शाक्यले सुनाए ।
काठमाडौ महानगरको वडा २१ भित्री सहर जहा लगनटोल यस वडाको परिचित ठाउँ हो । वडा २१ को भवन भूकम्प प्रतिरोधी हुनेछ ६ तलाको भवनको जमिन तला वडा कार्यालयका लागि प्रयोग हुनेछ ।
पहिलो तला गुठीका लागि प्रयोग हुने छ । बाँकी अरु तलामा पनि वडा कार्यालयकै रुपमा प्रयोग हुनेछन । भवनको पाँचौ तलामा ५० जना क्षमताको सभा कक्ष हुनेछ ।
भवन डिजाइन गर्दा अपाङ्गता भएका र जेष्ठ नागरिकको पहुँचलाई ध्यान दिइएको छ । यसका लागि भवनमा लिफ्टको व्यवस्था गरिएको छ । भवन निर्माणका लागि २ करोड ६ लाख ९० हजार रुपैयाामा कार्यादेश दिइएको हो । निर्माण कार्य २०७८ चैत २० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अहिले वडा ३, ४, ९, १४, १८ र २६ वडाको नयाँ भवनबाट कार्यालय सञ्चालनमा आइसकेको छ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार वडा २, ६, १२, २०, २२, २९ र ३१ निर्माण प्रक्रियामा छन । वडा १२ र १६ को खरिद प्रक्रियाबाट अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नति गर्नेलगायतका काम भइरहेका छन ।
सो अवसरमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यसहित छिमकी वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।
Categorized in स्थानिय