ललितपुर । नेपालभाषा मंकाः खलः, यलको आयोजनामा ललितपुरमा मुकुण्डो नाचको संरक्षणमा योगदान पुर्याउँदै आएका पौराणिक देवगण संस्थाहरूलाई सम्मान गरिएको छ ।
साथै यस अवसरमा दुई महत्वपूर्ण कृतिको विमोचन गर्दै संस्कृति प्रवद्र्धनमा उल्लेखनीय पहल गरिएको छ ।
ताम्रकार समाज, जावलाखेलमा आयोजित विशेष समारोहमा मुकुण्डो नाच परम्पाका संरक्षणकर्ता संस्थाहरू — श्री हरसिद्धि त्रिशक्ति भवानी, श्री नवदुर्गा गुठी, श्री रुद्रायणी गुठी, श्री कार्तिक नाच संरक्षण समिति र गं प्याखँ प्रबन्ध समितिलाई नगद १०/१० हजार रुपैयाँसहित ताम्रपत्रद्वारा सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मानपत्र वितरण गर्नुका साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिक रत्न शाक्यद्वारा लिखित ‘ललितपुरका प्रसिद्ध मुकुण्डो नाचहरू’ नामक पुस्तक विमोचन गरे ।
मन्त्री सिंहले पुस्तकले नेपालको मौलिक सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने सशक्त माध्यम हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी, नेपालभाषा मंकाः खलः, यल र मिसा साहित्यकार मुना महिला साहित्यिक संस्थाको सहकार्यमा तयार भएको ‘सत्यया लँपु’ कविता सङ्ग्रहको पनि विमोचन गरिएको थियो ।
९४ जना कविको सिर्जना संकलन गरिएको उक्त सङ्ग्रहमा माया, जीवन, आन्दोलन लगायत विविध भावनात्मक पक्ष समेटिएका छन ।
कार्यक्रममा कविहरूले आफ्ना सिर्जना वाचन गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाए ।
विशेष अतिथि बागमती प्रदेश सांसद रामकृष्ण चित्रकारले सांस्कृतिक पुस्तान्तरणको अभ्यासलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई समृद्ध सभ्यता र सम्पदाको केन्द्रको रूपमा चित्रण गर्दै सबैले संयुक्त रूपमा संरक्षणमा लाग्नुपर्ने धारणा राखे ।
नेवाः दे दबूका अध्यक्ष पवित्र बज्राचार्य, लेखक माणिक रत्न शाक्य, मिसा साहित्यकार मुनाकी अध्यक्ष विमल प्रभा बज्राचार्यलगायतले पनि मन्तव्य राख्दै संस्थाको प्रयासप्रति प्रशंसा व्यक्त गरे ।
समारोह संयोजक राजु ताम्राकारले यस्तो सम्मान कार्यक्रमलाई सानो प्रयास भन्दै राज्यको सबै तहबाट सहयोगको अपेक्षा व्यक्त गरे ।
अध्यक्ष हिराकाजी महर्जनले संस्था ५५ करोडको सांस्कृतिक भवन निर्माण अभियानमा रहेको जानकारी दिँदै सबै क्षेत्रबाट साथ र समर्थनको आह्वान गरे ।
कार्यक्रम सचिव महेन्द्रलाल महर्जनले सञ्चालन गरेका थिए भने समापनमा नेवारी खाजासहित मैत्री भोजको पनि व्यवस्था गरिएको थियो ।
Categorized in सम्पदा/संस्कृति