काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा सञ्चालित पत्रकारिताले समग्र नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन सभामुखलाई हस्तान्तरण गर्नेक्रममा आयोजित कार्यक्रममा उहाँले उक्त भनाइ राख्नुभएको हो ।
सभामुख घिमिरेले भन्नुभयो, “देशीविदेशी पत्रकारहरूको सहभागितामा सम्पन्न भएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ। यसबाट आएका निष्कर्ष मलाई दिनुहोस्, कार्यान्वयनका क्षेत्रमा म पनि सहयोग गर्नेछु।”
सम्मेलनको पृष्ठभूमि र निष्कर्ष
गत जेठ ३० र ३१ गते काठमाडौंमा आयोजित सम्मेलनमा बंगलादेश, भारतका विभिन्न राज्यहरू र नेपालका सातै प्रदेशबाट प्रतिनिधिमूलक पत्रकारहरूको सहभागिता रहेको थियो ।
दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनले समुदायको भित्री तहसम्म सूचना पुर्याउन, समस्याको पहिचान गर्न र योजनाबद्ध विकास गर्न मातृभाषा पत्रकारिता कोसेढुङ्गा सावित हुने निष्कर्ष निकालेको थियो ।
प्रतिवेदन हस्तान्तरण तथा भेटघाट
सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सम्पन्न कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर, सदस्यद्वय पूर्णभक्त दुवाल र विकास माली सहभागी थिए ।
धर्मादित्य धर्माचार्यको योगदानको सम्मानमा सम्मेलन
नेपालमा मातृभाषा पत्रकारिताका प्रथम अगुवा धर्मादित्य धर्माचार्यले पत्रकारिता आरम्भ गरेको १०० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन आयोजना गरिएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि समावेशी सञ्चार, मातृभाषा पत्रकारिता, पत्रकारको हक अधिकार र क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर वकालत गर्दै आएको छ ।
संस्था हाल देशभर २९ जिल्ला शाखामार्फत पत्रकारिता अभ्यासमा सक्रिय छ ।
अघिल्लो वर्ष पनि भव्य सहभागिता
दबूले यसअघि पनि भुटान, बंगलादेश, भारत र नेपालका पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न गरिसकेको छ ।
संस्थाले सांस्कृतिक पत्रकारिता, मिशन जर्नलिज्म तथा एजेन्डा सेटिङ मार्फत वैकल्पिक पत्रकारिता अभ्यासलाई संस्थागत गर्दै आएको छ ।
Categorized in समाज