काठमाडौँ । काठमाडौं महानगरको २७ औं महानगर दिवसको आयोजनामा मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ ।
सोमवार विहान दशरथ रंगशालमा भएको खेलमा मेयर र प्रशासकीय अधिकृत टिमले ३–३ गोल गरेर बराबरीमा टुंगाएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेका जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेको कर्मचारीको टीमविच भएको खेल भएको हो ।

खेलको सुरुमा कर्मचारीको टीमबाट सिमन केसीले पहिलो गोल गरेका थिए भने केही समयपछि जनप्रतिनिधितर्फका खेलाडीले डी एरिया भित्रै हेण्ड गरेपछि कर्मचारीतर्फबाट सुन्दर हमालले पेनाल्टीको सदुपयोग गर्दै १ गोल थपेका थिए ।
खेलको पहिलो हाफमा खेल मैदान छिरेका वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले जनप्रतिनिधिका तर्फबाट शुरुवाती गोल गरे लगत्तै वडा ३ का सदस्य प्रेम थापाले जनप्रतिनिधिका लागि दोस्रो गोल गरेपछि खेल पहिलो हाफ अघि बरावरी भएको थियो ।
दोस्रो हाफको सुरुवातमा कर्मचारीकातर्फबाट सिमन केसीले १ गोल गरेका थिए । खेलको अन्त्यतिर जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले अर्को १ गोल थपेपछि दुवै पक्षको ३—३ बराबरीमा खेल सकियो ।

खेलको संयोजन सामाजिक विकास विभागले गरेको थियो । खेल सुरु हुनु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महानगरपालिकाका प्रमुख शाक्य फुटबल हस्तान्तरण गरेका थिए ।
खेल समापनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले, निश्चित ठाउँ, व्यक्ति र अवधिका लागि प्रतिस्पर्धा र त्यसपछिको हार्दिकता, खेल जीवनबाट राजनीतिज्ञ र प्रशासनिक नेतृत्वले सिक्नु पर्ने पाठ भएको धारणा राखेका थिए ।
फुटबल खेलले महानगरमा जनप्रतिनिधि र कर्मचारीविच राम्रो समन्वय भएको देखाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । यो मैत्रीपूर्ण सम्वन्धबाट महानगरको सहरी सेवा वितरण, पूर्वाधार निर्माण र सेवा प्रवाहमा विम्बित हुने अधिकृत ज्ञवालीको भनाई थियो ।
महानगरले यस अवसरमा सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप र वृहत स्वास्थ्य शिविर, कोविडविरुद्धको खोप कार्यक्रम, विशेष सरसफाई, खेलकुद, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ विषयमा विद्यालय स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन ।
मंसिर २९ गते मुल बसन्तपुरमा मूल समारोह हुनेछ ।
तस्वीर सौजन्यः मोहन बास्तोला
Categorized in मनोरन्जन