काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कविच शिष्टाचार भेट भएको छ ।
सोमवार भएको भेटवार्तामा समावेशी सहर व्यवस्थापन सिकाइ अभ्यासका विषयमा छलफल भएको थियो ।
भेटघाटको क्रममा राजदूत भोल्कले उपप्रमुख डंगोललाई २ हप्ते क्षमता विकास तालिमका लागि निमन्त्रणा गरिन ।
भेटका क्रममा उपप्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहरी व्यवस्थापन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिईन ।
साथै सम्बन्ध स्थापना भएका नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरिएको समेत बताईन ।
अष्ट्रेलियाको नगरहरुको व्यवस्थापनका अभ्यास र काठमाडौँको सांस्कृतिक गरिमा आपसी आदान प्रदानका विषय बन्न सक्ने उनले बताईन ।
विकास र सम्पदा संरक्षणसँगै महिला, दलित, आदिबासी, अल्पसंख्यक तथा जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उपप्रमुख डंगोलले भेटको क्रममा राजदूत भोल्कलाई सुनाईन ।
भेटका क्रममा राजदूत भोल्कले काठमाडौँ महानगरले समावेशी चरित्रको सहर निर्माणका लागि लिएको नीति, अघि सारेका कार्यक्रम, महिला ससक्तिकरण र नीतिगत तहमा महिलाहरुको नेतृत्वलगायतका विषयमा जिज्ञासाा राखिन ।
त्यस्तै भगिनी सम्बन्ध भएका सहरहरुसँग गरिने क्रियाकलापका विषयमा पनि राजदूतको जिज्ञासा थियो ।
हामीले पेशागत अवसरका रुपमा नेपालका पालिका र प्रदेश तहबाट अधिकारीहरुको तालिमका लागि वित्तिय व्यवस्थापन, सार्वजनिक सेवा, शिक्षालगायत विषय प्रस्ताव गरेको राजदूतको भनाई थियो ।
राजदूत भोल्कले अष्ट्रेलियामा आउँदो बर्ष निर्वाचन हुने भएकोले त्यसलाई असर नहुने गरी कार्यक्रम आयोजना गरिने भएकोले सो अवसरमा उपप्रमुख डंगोललाई निमन्त्रणा गरिन ।
त्यस अवसरमा दूताबासका विकास प्रमुख कविथा कास्यानाथान, महानगरको अन्तराष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख सुदर्शन भट्टराई, उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमलगायत पदाधिकारीहरु सहभागी थिए ।
Categorized in स्थानिय