काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा नवनिर्मित नागरिक सहयाता कक्षको आईतबार उद्घाटनको क्रममा विश्वास नेपाललाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रशंसा पत्र प्रदान गरेको छ ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीलाई महानरिक्षक खनालले सो प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।
विश्वास नेपालले सो कक्षको लागि फर्निचर, ब्रोसर लगायतका भौतिक सामग्रीहरु प्रदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
त्यसैगरी संरक्षक समूह नेपालका प्रतिनिधिलाई पनि महानिरिक्षक खनालले प्रशंसा प्रदानसहित सम्मान गरेको थियो ।
नवनिर्मित भवनको लागि नेपाल बंगलादेश बैंककले सहयोग गरेको हो ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, कक्षमा निःशुल्क वाईफाई जडान गरी सहयोग गर्ने सुविसु केवल नेट प्रालिलाई महानिरीक्षक खनालले प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।
प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार सहायता कक्ष निर्माण गरिएको उल्लेख गर्दै पीडितमैत्री सेवा प्रदान गर्ने उद्देश्यमा यस्ता कक्षहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यसैगरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै केन्द्रदेखि टोलटोल समेटन सक्ने गरी ल्याइएको समुदाय–प्रहरी साझेदारी अवधारणाले राज्य र नागरिकबीच सेतुको रुपमा कार्य गरेको चर्चा गरे ।
१९ लाख ५० हजार रुपैयाँको लागतमा नेपाल बंगलादेश बैंकले निर्माण गरेको उक्त सहायता कक्ष महानगरीय प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरिएको हो ।

यसैगरी कार्यक्रममा काठमाडौं महानगरपालिका, सानिमा बैंक र जनता बैंकद्वारा निर्माण गरिएका समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम, घरदैलो कार्यक्रम लगायतका लागि जनचेतनामूलक सन्देश दिने ब्रोसर तथा स्टीकर प्रहरी महानिरीक्षक खनाललाई हस्तान्तरण समेत गरिएको थियो ।
सो कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्तकुमार लामाले धन्यवाद ज्ञापन गरेका थिए ।
नागरिक सहायता कक्षमा सचेतनामूलक श्रव्यदृष्यको प्रशारण, विभिन्न निवेदन निःशुल्क वितरण, तातो तथा चिसो पिउने पानीको व्यवस्था, फ्रि वाईफाईको व्यवस्था, विभिन्न सचेतनामूलक सामग्री वितरण, प्रहरी प्रकाशन र पत्रपत्रिका, नागरिक सहयोग तथा समन्वय कर्मचारीहरुबाट नागरिकलाई परामर्श समेतका सेवा उपलब्ध हुने उक्त अवसरमा जानकारी गराईयो ।
Categorized in समाज