काठमाडौं । काठमाडौं महानगरपालिको सार्वजनिक जग्गामा सञ्चालित व्यवसाय र टहराहरु हटाउने भएको छ ।
सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको छ भने कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए ।
ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको जनाएको छ ।
महानगरले सार्वजनिक जग्गाको पहिचान र संरक्षणको कामलाई तिव्र गतिमा बढाएको जनाएको छ ।
अहिलेसम्म ५० रोपनी सार्वजनिक जग्गाको पहिचान भएको महानगरपालिकाले जनाएको छ । वडा नं ३ मा १५, ६ मा १० र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको हो ।
सार्वजनिक जग्गा पहिचान समिति गठन गर्ने तयारीमा रहेको महानगरले समितिको सयोजकमा वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीलाई छनौट गर्ने भएको छ ।
अध्यक्ष केसीका अनुसार सो वडामा हालसम्म १५ रोपनी जग्गाको पहिचान भएको छ । अब समितिले त्यसको संरक्षण र अन्य जग्गाको पहिचान गर्ने कार्य गर्नेछ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले अन्य वडामा रहेको सार्वजनिक जग्गा पहिचान गर्न सबै वडाका वडाध्यक्षलाई निर्देशन दिएका छन । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ ।
Categorized in समाज