७ बैशाख २०८१, शुक्रबार
Header

महानगरले आकाशे पानी संकलन र पुनभरण योजना अघि बढायो


प्रकाशित: शनिवार, ९ असोज २०७८, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पुनभरणको थालनी सुरु गरेको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले शुक्रवार काठमाडौंको नन्दी रात्री स्कूलमा आकाशे पानी संकलन तथा भूमिगत पानी पुनभरण प्रणाली निर्माण को शिलान्यास गरेका छन । 


शाक्यले पानीको स्रोत जोगाउन सकिएन भने पानीको संकट थपिन थाल्छ । यसले व्यवस्थापनमा संकट ल्याउँछ । पानीकेो यो सम्भावित जोखिमबाट बच्न हामीले आकाशे पानी संकलन र जमिन पुनभरण प्रणाली निर्माण गर्ने कामलाई एउटै योजना बनाएर अगाडि बढाएका  जानकारी दिए ।


सो अवसरमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले नन्दी स्कूलको जमिनबाट पानी भित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको वहाब बढ्ने अपेक्षा सुनाए । 


वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गरे । 


व्यक्तिगत रुपमा आफूले पनि प्रणाली जडान गरेको उल्लेख गर्दै श्रेष्ठले आकाशबाट आएको पानी प्रयोग गर्न मिल्ने खालको हुने बताउनुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी अमात्यले, यो प्रणालीले विद्यालयको गरिमा बढाउने उल्लेख गर्नुभयो ।


महानगरकी वातावरण इञ्जिनियर निशा कोइरालाका अनुसार विद्यालयको २९७ स्क्वायर मिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोलि ट्याङ्क, फ्लस डाइभर्टरमा पठाइन्छ । जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहोरसहितको फोहोर पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी यही ट्याङ्क हुँदै १ हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, ४ मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ ह्जार ७६० लिटर क्षमताको ट्याङ्की बनाइनेछ ।


ट्याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङ्मार्फत जमिनमुनि पठाइन्छ । यो रिङ्मा साना ठूला रोडा र वालुवाको तह बनाइएको हुन्छ । यो प्रणाली करीब ११ लाख २० हजार रुपैयाँमा निर्माण हुन लागेको हो । सुप्रिम निर्माण सेवाले यो काम गर्दैछ । 


यस अघि ०७६ फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनभरण प्रणाली शुभारम्भ गरिएको थियो ।


त्यस क्षेत्रको जलाधार क्षेत्रमा (क्याचमेन्ट) मा जम्मा भएको पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन । 


दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ ।


यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । 


जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । 


डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको थियो । यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD