काठमाडौं । काठमाडौँ महानगरपालिकाले भवन निमार्ण मापदण्डमा केही परिवर्तन गरेर लागु गरेको छ ।
महानगरले २०८१ बैशाख १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो ।
त्यसैगरी, सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ ।
महानगरपालिकाको सहरी व्यवस्थापन विभागले वडा सचिव र वडाका इञ्जिनियरका लागि आयोजना गरेको ‘भवन निर्माण मापदण्ड २०८० तथा भवन संहिता सम्बन्धी’ अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो ।
महानगरपालिकाले ‘भवन निर्माण मापदण्ड २०८०’, ‘भवन निर्माण सम्बन्धी कार्यविधि २०७५ को पहिलो संशोधन २०८०’ जारी गरेको हो ।
सो अवसरमा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले सहरमा सिर्जना हुने नयाँ प्रकारका विपतको सामना गर्न समय समयमा मापदण्ड परिमार्जन तथा संशोधन गर्ने गरिएको बताए ।
सहरी व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर जीवन रेग्मीले भित्री सहरी क्षेत्रमा १ तला र वाहिरी वडामा २ तला बेसमेन्ट बनाउन सकिने व्यवस्था भएको बताए ।
१७ मिटर (अधिकतम ५ तला) भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान (जिओ टेक्निकल इन्भेष्टिगेसन) गर्नुपर्ने व्यवस्था गरिएको रेग्मीको भनाइ छ ।
त्यसैगरी, काठमाडौँ महानगरपालिका भवन निर्माण सम्बन्धी कार्यविधि पहिलो संशोधन २०८० मा पुरानो सहरी क्षेत्रका लागि उपक्षेत्रहरु तोकिएको छ ।
भवन निर्माण मापदण्डले पुरानो सहरी क्षेत्रलाई स्थानको प्रकृतिलाई आधार बनाएर संरक्षित स्माकरक क्षेत्र, संरक्षित उपक्षेत्र, मिश्रित पुरानो बसोबास उपक्षेत्र गरी उपक्षेत्रहरु तोकिएको छ ।
यसमा पहिलो संरक्षित स्मारक उपक्षेत्र हो । पुरातात्विक सांस्कृतिक सम्पदा भएका वडाहरु (६, ८, १५, १९, २३, २४ र २५) वडाका भाग यसमा पर्छन ।
कुमारी रथ यात्रा हुने मार्गसँग सम्बन्धित वडाहरु (१२, १७, १८, २१, २४, २५ र २७) लाई संरक्षित उपक्षेत्रमा राखिएको छ ।
यस्तै पुरानो बसोबास भएका वडाहरु ११, १२, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ लाई मिश्रित पुरानो बसोबास उपक्षेत्रमा राखिएको छ ।
यस्तै हाँडीगाउँको प्राचीनता बचाउन यस क्षेत्रलाई हाँडीगाउँ संरक्षित उपक्षेत्रमा राखिएको छ ।
संशोधित मापदण्ड अनुसार संरक्षित स्मारक उपक्षेत्रबाहेक अन्य क्षेत्रमा जुनसुकै प्रयोजनका लागि ४ आनाभन्दा धेरै क्षेत्रफल भएको जग्गामा भवन निर्माण गर्दा २० प्रतिशत क्षेत्रफल पार्किङ् प्रयोजनको हुनुपर्नेछ ।
यसमा सडकको क्षेत्राधिकारभित्र नपर्ने गरी सेडव्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइन्छ ।
यस्तै आवासीय क्षेत्रलाई ४ उपक्षेत्रमा बाँडिएको छ । पहिलो, व्यापारिक उपक्षेत्र हो । दोस्रो, बाक्लो मिश्रित बसोबास उपक्षेत्र हो ।
यसमा वडा नं. (१, ११, १२, १७, १८, १९, २०, २१, २६, २७, २८, २९ र ३०) लाई राखिएको छ ।
तेस्रो, अन्य आवासीय उपक्षेत्र हो । यसमा वडा नं. (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, २१ र ३२) लाई राखिएको छ ।
चौथोमा, योजनाबद्ध आवासीय उपक्षेत्र राखिएको छ । यसमा वडा नं. ६ को बागमती नगर योजना, वडा नं. ९ को तिलगंगा जग्गा विकास, वडा नं. १४ को कुलेश्वर जग्गा विकास, वडा नं. १५ र १६ मा पर्ने चमती र नयाँ बजार जग्गा विकास र वडा नं. ३२ मा पर्ने मनोहरा र सिनामंगल जग्गा विकास कार्यक्रमभित्रको क्षेत्रलाई राखिएको छ ।
पार्किङ्ग, सेड व्याक, (फ्लोर एरिया रेसियो) फार लगायतका सुविधा उपक्षेत्रका आधारमा फरक फरक छन ।
महानगरपालिकाले जारी गरेको कार्यविधिमा नक्सा स्वीकृति प्रक्रियामा आवश्यक पर्ने निवेदन, दरखास्त, अनुमति पत्र, सर्जमिनका लागि चाहिने कागजपत्रलगायत अनुसूचीमा राखिएको छ ।
Categorized in स्थानिय