२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

महानगरबाट नेत्रहीन महिला क्रिकेट टोली १८ लाख ५० हजार प्रदान नगदसहित सम्मानित 


प्रकाशित: सोमवार, २१ पुस २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौँ । फस्ट विमेन्स टी–२० वल्र्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।


क्रिकेट एशोसिएसन फर द ब्लाइन्ड इन इन्डियाको आयोजनामा कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा सम्पन्न वल्र्डकपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान गर्नुभएको हो ।


यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँका दरले नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।


खेलाडीहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, महानगर प्रवक्ता नविन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., समितिका सदस्यहरू, कार्यपालिका सदस्यहरू, क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक के।सी। ले आगामी प्रतियोगिताका लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “क्रिकेट खेलमा जितका लागि खेलाडीहरूमा जत्तिकै दर्शकहरूमा पनि भावनात्मक लगाव हुन्छ ।

 
खेलले खेलाडी र दर्शकलाई समान रूपमा बाँध्छ। सबैलाई जोड्ने यो खेलको विकासका लागि हामी नियमित रूपमा काम गर्नेछौँ ।”


टोलीकी कप्तान गीता पौडेलले सरकारका तर्फबाट पाएको यो पहिलो सम्मान अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । “आज प्राप्त गरेको सम्मान नगद वा जिन्सी वस्तुसँग तुलना गर्न मिल्दैन। हाम्रो मुख्य आवश्यकता अभ्यास मैदान हो। काठमाडौँ महानगरपालिकाले त्यो पूर्वाधार उपलब्ध गराउनेछ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो ।


यस्तै, टोली नेता पवन घिमिरेले खेलाडीहरूलाई बोलाएर गरिएको कार्यक्रम सम्मान मात्र नभई पहिचान र हौसला भएको उल्लेख गर्नुभयो। “यो अमूल्य छ। अबको हाम्रो अपेक्षा महानगरपालिकाले पारा स्पोट्र्स एकेडेमी स्थापना गर्ने हो,” उहाँले भन्नुभयो ।


उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुनसहित सुस्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल सहभागी हुनुहुन्छ ।


टोलीका प्रशिक्षक पुरनसिंह खत्री, सह–प्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सह–व्यवस्थापक भावना के।सी। र टोली नेता पवन घिमिरे रहनुभएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex