काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई महानगरको लागि आग्रह गरेका छन ।
प्रमुख शाक्यले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन ।
‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘महानगरबासी, कर्मचारी र जनप्रतिनिधिबीच आत्मीय सम्बन्ध बिकास गर्दै र समन्वयलाई प्रभावकारी बनाउँदै परिणाममापन हुने गरी काम गरौं ।’
शाक्यले काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुसँग अन्य स्थानीय तह सञ्चालनका बिषयमा विभिन्न स्थानीय तहमा गएर प्रशिक्षण चलाउन सक्ने क्षमता भएको भन्दै त्यो क्षमता आफ्नै कार्यालयमा पनि देखाउन सुझाव समेत दिएका थिए ।
कर्मचारीले आफ्नो क्षमताको भरपुर प्रयोग गरेर महानगरको समृद्धीमा खर्च गर्नुपर्नेमा प्रमुख शाक्यले जोड दिए । प्रमुख शाक्यले भने, ‘मलाई नीति चित्त बुझेन, कार्यक्रम चित्त बुझेन, म यो काम गर्दिन भन्ने छुट कर्मचारीलाई हुँँदैन । सार्वजनिक सेवा प्रवाह गर्दा सहज र सर्वसुलभ ढंगले प्रवाह गर्नुहोला ।’
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै तथ्याङ्कमा आधारित समीक्षा प्रणालीको बिकास गर्नुपर्ने वताए ।
सो अवसरमा महानरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वृत्ति बिकास, पदोन्नतिजस्ता बिषयमा निराशा देखाएर कर्मचारीले बजेट, नीति तथा कार्यक्रमको लक्ष्य अधुरो बनाउने कुराले सकारात्मक परिणाम नदिने वताए ।
दिएको लक्ष्य पूरा गर्ने गराउने क्रममा समस्या देखाउने नहुने तथा समस्या समाधान गरेर परिणाम ल्याउने गरी लाग्नु पर्ने अधिकृत अर्यालको भनाई थियो ।
त्यसैगरी सहसचिव राजेश्वर ज्ञवालीले सामुहिक हितका काम गर्न नेतृत्वको निर्णय गर्ने क्षमता आवश्यक पर्नेमा जोड दिनुभयो । बिभागीय प्रमुखहरुलाई कार्यक्रम सञ्चालन गर्दा पद्धति, चुनौती, खर्च र लाभ बिश्लेषण गर्न आग्रह गर्नुभयो ।
बिभाग, आयोग, महाशाखा, आयोजना, इकाई र सचिवालयको प्रतिनिधित्व गर्दै २७ जनाले प्रस्तुतिकरण दिएका थिए ।
स्मार्ट शासन÷प्रशासन, स्मार्ट सेवा प्रवाह र व्यवस्थापन, सेवामा पारदर्शिता र जवाफदेहिता, एकीकृत र समन्वयात्मक बिकास जस्ता विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।
सहभागीहरुले समिक्षा कार्यक्रममा प्रस्तुतिकरण गर्दै स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्राबिधिक क्षेत्रका जनशक्ति कम हुनु, महामारी आउनुजस्ता कारण देखाइएको थियो ।
महालेखा परीक्षकको कार्यालयले देखाएको वित्तीय अनुशासन कायम गराउन थप तत्परता देखाउनु पर्ने जस्ता विषय पनि समिक्षामा उठेका थिए ।
Categorized in स्थानिय