काठमाडौं । काठमाडौं महानगरपालिकाको विहिवारको बैठक फोहोरको एजेण्डाले तातेको छ ।
महानगरको सातौं कार्यपालिका बैठकमा वडा अध्यक्षहरुले बैठकमा फोहोर व्यवस्थापनको एजेण्डा बाहेक अरु एजेण्डमा छफलफनै नगर्ने बताएका थिए ।
उनीहरुले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर प्रमुख बालेन्द्र साहको नेतृत्व कमजोर भएको बताएका छन ।
भोलीदेखि काठमाडौं उपत्यकामा जनैपूर्णिमा, गाईजात्रा सुरु हुने भएकोले तत्कालको लागि कोर एरियाको फोहोरको व्यवस्थापन जसरी भएपनि गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका वडा १२ अध्यक्ष बालकृष्ण महर्जनले कोर क्षेत्रको फोहोर तत्काल व्यवस्थापन गर्नु पर्ने बताएका छन ।
विहिवार काठमाडौं महानगरपालिकाको सातौं कार्यपालिका समितिको बैठकमा वडा अध्यक्ष महर्जनले सो कुरा बताउदै भने,‘भोलीदेखि त जात्रा सुरु भयो, यो टाईमा कोर एरियामा फोहोर उठाउन सकेन भने महानगरका सबै जनताले हामीलाई गाली गर्ने भयो, बरु हामी पनि खटुला तर यो कोर एरियाको बाटोमा भएको फोहोर भोली भन्नु भएन, आजै तत्कालै फोहोर व्यवस्थापन गर्नु पर्ने भएको छ ।’
३० वडाका वडा अध्यक्ष दलबहादुर कार्कीले फोहोर व्यवस्थापनको लागि सरकारलाई दवाव दिनुपर्ने बताए ।
‘सरकारले असहयोग गरेको हो भने भिआइपी हिँड्ने बाटोमै फोहोर फाल्दा हुन्छ,’उनले भने, ‘त्यो पनि नभए बागमतीमै फाल्दा हुन्छ। युएन पार्कमा लगेर फाल्दा हुन्छ। त्यति गरेपछि बल्ल सरकारको ध्यान जान्छ। यसो गर्दा गोली हान्छ भने हामी गोली खान तयार छौं।’
सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने समेत चेतावनी दिएका छन ।
त्यसैगरी ७ वडाका अध्यक्ष बिमल कुमार होडाले फोहोर व्यवस्थापन कार्यदलले के कति काम गरेको छ सो बारे प्रष्ट पार्न प्रमुख साहलाई आग्रह गर्दै फोहोरको व्यवसथापनबारे खाली कुरामा मात्र भयो काम भएन, कुनै काम पनि कार्यसमितिका सदस्यहरुसँग छलफल नगरी मनपरी ढंगबाट काम भएको भन्दै आक्रोश व्यवक्त गरे ।
उनले प्रमुुख साहको कार्यशैली प्रति असन्तुष्टि समेत जनाएका छन ।
बञ्चरेडाँडामा केही दिन अघि फोहोर बोकेका गाडी, सडक मर्मतका सवारी साधनमा अज्ञात समूहले तोडफोड गरेपछि काठमाडौंको फोहोर व्यस्थापन अनिश्चित भएको छ ।
कहिले स्थानीयहरुको आन्दोलन, कहिले सडक मर्मत त, कहिले सहमित पालना नभएको लगायत विभिन्न कारणले काठमाडौंका फोहोर लामो सयमदेखि सडकमै थन्किनु परेको छ ।
यद्दपी बैठकमा प्रमुख साहले भोलीदेखि फोहोर ढुुवानी हुने बताएका छन ।
Categorized in स्थानिय