२९ बैशाख २०८१, शनिबार
Header

महानगरको कुन क्षेत्रमा कति पार्किङ शुल्क ? निजी भवनमा पार्किङको लागि पूर्व अनुुमति


प्रकाशित: मंगलवार, २ साउन २०८०, ०७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्षेत्र अनुसार पार्किङ शुल्क निर्धारण गरिएको छ । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन) का अनुसार न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । 


यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । 


यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । 


क्षेत्र नम्बर १ का स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ ।

 
यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।

 
त्यसैगरी, निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । 


यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ । 


लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ्ग गर्ने गरी सञ्चालन गरिने व्यावसायलाई व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ ।

 
त्यसैगरी, निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनु पर्छ । 


अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङ्गको व्यवस्था हुनेछ । 


पार्किङ्ग क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ्ग संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ । 


सूचना पाटीमा पार्किङ्ग दर्ता नम्बर, पार्किङ्ग सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ्ग शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD