२५ बैशाख २०८१, मंगलबार
Header

मन्त्री किरातीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन


प्रकाशित: विहिवार, ५ पुस २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिलाई लिएर नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन सो संस्थाले पशुपति क्षेत्रमा मन्त्री किरातीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो ।


विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।


बुधबार क्रिसमस फेस्टिभलको एक कार्यक्रममा मन्त्री किरातीले क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । 


‘कसैको दायामायाले होइन, हजारौं शहीदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरु एकथरि फूल हो । तपाईंहरुविना बगैंचाको शोभा हुँदैन,’ उनले भने, ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’


सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले बिरोध जनाएका हुन ।


संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।


राप्रपा नेपालले पनि मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै पदबाट वर्खास्त गर्न माग गरेको छ ।


राप्रपाले मन्त्रीकिरातीको भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको, सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने जिकिर गरेको हो । 


राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मन्त्रीको भनाइ गैरसंवैधानिक, सामाजिक सद्भाव विथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD