काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको विभिन्न निर्णयहरु सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका निर्णयहरुबारे जानकारी दिए ।
निर्णयहरुः
१) काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रूजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्च बापत २५००० एकमुष्ठ प्रदान गर्ने निर्णय गरेको छ ।
२)जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्िपक बसोबासको व्यवस्था आफैं गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रतिपरिवारलाई राहत स्वरूप १५,००० प्रतिमहिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप २००० दिने निर्णय गरेको छ । हाललाई उनीहरूले तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च पाउनेछन ।
३) वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्िडङ सेन्टरहरूमा राख्ने निर्णय सरकारले गरेको छ ।
४) सरकारले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्यांक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
५) अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
६) बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने निर्णय ।
७) प्रत्यायान नियमावली, २०८३, सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
८) नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय