काठमाडौँ । सरकराले मन्त्रालय मातहतमा रहेको ६४ विभागलाई घटाएर ५४ विभागमा झार्ने तयारी गरेको छ ।
अब संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।
प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाँभिएको तथा काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको बताएका छन् ।
विभन्न विभागहरु गाभिएपछि घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू–सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाँभिने भएका छन ।
यसैगरी प्रहरी किताबखाना र विद्यालय–शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ ।
यी नयाँ बनाएका विभागलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि लागु हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय