काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने जनाएको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ ।
दल दर्ताका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र निवेदन दिनुपर्नेछ ।
मनाङ–१(२) मा निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि सो पद रिक्त भएको हो ।
उक्त रिक्त पदमा उपनिर्वाचन हुने आयोगले जनाएको छ ।
दल दर्ता गर्न राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ ।
साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति तथा प्रदेश–जिल्ला तहका पदाधिकारी र सदस्य संख्या उल्लेख गर्नुपर्नेछ ।
त्यसैगरी दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनका लागि दिएको अधिकारको निर्णय प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमूना संलग्न गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।
संविधानको धारा २६९(४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्र अनिवार्य हुने आयोगले जनाएको छ । नयाँ दल बनेका वा गाभिएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरणसमेत प्रस्तुत गर्नुपर्नेछ ।
Categorized in राष्ट्रिय