२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मध्य एसियाको समरकन्द ः संस्कृतिको चौबाटो


प्रकाशित: बुधवार, १० असोज २०७५, १०ः३० बजे
- बिजयकृष्ण श्रेष्ठ

विश्वको इतिहासबारे पढेकाका लागि समरकन्द र मंगोल बादशाह तैमुरलंग (तैमुर लङ्गडा) कुनै अपरिचित नाम होइनन् । बाबरले पनि यहाँको बादशाह बन्न ठूलै कोसिस गरेका थिए, तर तिनी सफल हुन सकेनन् र काबुलमा आएर बसे । त्यसपछि यिनी दिल्लीको बादशाह बन्ने अभियानामा लागे र सफल पनि भए । १८औं शताब्दीको अन्ततिर आएर समरकन्द चीनको भूभाग बन्यो, त्यस पछि बुखाराको अमिरको अन्तर्गतमा रह्यो  । सन् १८६८ देखि यो रूसको भूभाग रह्यो । हाल यो उज्बेकिस्तानको समरकन्द क्षेत्रको राजधानीका साथ राजधानी ताशकन्दपछिको ठूलो शहर रहेको छ । 


्मध्य एसियाको यो शहर कहिले स्थापना भयो भन्ने यकिन तथ्य छैन । यहाँ प्राचीन पाषाण युगदेखि नै मानवीय गतिविधि रहेको पुरातात्विक उत्खननबाट पत्ता लागेको छ । तर ऐतिहासिक रूपमा ईसापूर्व ८औँ वा ७औँ शताब्दीमा यस  शहरको स्थापना भएको इतिहासविद्हरू मान्दछन् । रेशम मार्गमा पर्ने  प्रसिद्ध शहर भएकाले यो एक समृद्ध शहरका रूपमा उदायो । 


पहिले त यहाँ प्राचीन सोग्दियाली सभ्यता फुल्यो, फल्यो । प्राचीन इरान अर्थात् फारसको अकीमनिड वंशको पालामा यहाँ सोग्दियन क्षेत्रपाल (क्षत्रप) बसी त्यस साम्राज्यको प्रशासकको रूपमा शासन चलाउँथ्यो । सन् ३२९ मा सिकन्दर महान्ले यहाँ विजय हासिल गरे । युनानीहरूले यस शहरलाई माराकन्द भने । युनानी शासकहरूको हातमा यहाँ युनानी संस्कृतिको विकास भयो र यहीँबाट मध्यएसियामा नै युनानी संस्कृतिको प्रभाव प¥यो । विशेष गरेर भवन निर्माणमा यसको प्रभाव परेको स्पष्ट देखियो । युनानी र त्यसपछि कुशान साम्राज्यको पतनसँग सँगै समरकन्दको महत्व पनि हरायो । त्यस पछि ईसाको ५औँ शताब्दीमा आएर मात्र यसको पुनरुत्थान भएको देखिन्छ । ईस्वी सन् २६० मा फारसको ससानियालीहरूले समरकन्दमा विजय हासिल ग¥यो । त्यसपछि हूण र तुर्कहरूले यो शहरमा शासन गरे । चिनिया तांग वंशका सम्राटसँग युद्धमा हारेपछि यहाँका शासकहरूले चिनिया सम्राटलाई कोसेली बुझाई शासन चलाउनुपर्ने भयो । सन् ७१० मा उमय्याद खलिफाका कमाण्डर कुतय्बा इब्न मुस्लिमले यहाँ फतेह हासिल गरे । 


यतिञ्जेलसम्म यहाँ विभिन्न धर्महरूको प्रचलनदेखियो । जरुथ्रुस्तवादी, मनिकीवादी, बौद्ध, हिन्दू, यहूदी र नेस्तोरी इसाई । उमय्याद खलिफाको विजयपछि यहाँ द्रुत गतिमा मुसलमानहरू बढेर यहाँको प्रमुख धर्म बने । भनिन्छ यसै मुसलमान खलिफाको शासनको बेलामा तालस नदीमा भएको युद्धमा बन्दी बनाइएका २ जना चिनियाहरूबाट  कागज बनाउने गोप्य प्रविधिबारे जानकारी हासिल भयो । यसपछि समरकन्दमा एक कागज कारखाना खोलियो । यो कागज कारखानाको प्रचारले बाँकी अरब दुनियाँले पनि कागज बनाउन जाने । अनि कागज बनाउने प्रविधि युरोपमा पनि फैलियो । 


सन् १२२० मा चंगेज  खानको नेतृत्वमा मंगोलहरूले समरकन्दमा विजय हासिल  गरे । सन् १३७० मा तैमुरलंगले यहाँ विजय हासिल गरे पछि उनले आफ्नो राजधानी बनाई ठूलो उन्नति प्रगति गरे । इतिहासमै क्रूर शासकका रूपमा मानिने र भारतमा तबाह मच्चाई नरसंहार गरेका तैमुरलंग आफ्नो राजधानी समरकन्दका लागि कालिगढलाई प्राथमिकता दिई विकास गरे । सन् १८६८ मा यो शहर रूसी साम्राज्यको अधीनमा आएको हो । 


समरकन्दलाई युनेस्कोले संस्कृतिहरूको चौबाटो भन्दै सन् २००१ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । वर्तमान समरकन्द दुई भागमा बाँडिएको छ, एक पुरानो र अर्को नयाँ निर्माण भएको क्षेत्र । पुरानो क्षेत्रमा त ऐतिहासिक धरोहररू रहेका छन् नै, नयाँ शहर निर्माण भएको क्षेत्रमा पनि म्युजियम र स्मारकहरू खडा गरिएका छन् । 


समरकन्दका प्रमुख दर्शनीय स्थानहरूमा रेगिस्तान पहिलो नम्बरमै आउँछ । रेगिस्तानको अर्थ त फारसी भाषामा मरुभूमि नै हो । सायद पहिले मरुभूमि रहेकाले नै यसलाई रेगिस्तान भनिएको होला । हाल यो स्थलको नाम नै यस्तो रहन गयो । यो समरकन्दको मध्यभागमा अवस्थित प्रमुख चोक हो । यहाँका ३ वटा प्राचीन मदरसाका साथ सायबानिदको दरगाह र चोर्सू व्यापारिक गुम्बज प्रख्यात रहेका छन् । शाह–ए–जिन्दा दरगाह समरकन्दको अर्को आकर्षक हो । यो दरगाह र मकवरा र स्मारकह ९औँ शताब्दी देखि १४औँ शताब्दीसम्ममा बनेका र १९औँ शताब्दीमा बनेका छन् । शाह–ए–जिन्दाको अर्थ जिउँदो राजा भन्ने नै हो । तर यो कुनै शहंशाहको मकवरा नभई मोहम्मदका एक जना भजिक कुसम अब्बासको चिहान भएको दरगाह हो । उनैलाई राजा समान उच्च स्थान दिएर यसो भनिएको हो । समरकन्दमा अरब विजयका साथ उनी इस्लाम धर्म प्रचारका लागि यहाँ आएका थिए । तर उनलाई विरोधीहरूले गिँडे । तर उनी मरेनन्, अपितु आफ्नो छुट्टिएको टाउकोसहित नै इनारमा हाम फाले । यहाँका मुसलमानहरूे उनी जिउँदै रहेको विश्वास गर्दछन् । यसैले शाह–ए–जिन्दा दरगाह बनाइयो । हाल यस क्षेत्रमा बीस भन्दा बढी भवनहरू रहेका छन् । 


गुर–ए–अमिर समरकन्दको अर्को आकर्षण हो । यहाँ तैमुरलंगकै चिहान रहेको छ । यस मकबराको वास्तुकला फारसी–मंगोल वास्तुकलाको एक नमुना हो । यो वास्तुकलालाई मुगल वास्तुकलाको अग्रज मानिन्छ । सोभियत सरकारले इतिहासको अध्ययनकै सिलसिलामा यहाँ रहेको तैमुरलंगको चिहान खनेर निकाल्यो । त्यहाँ जसले  यो चिहान खनेर निकाल्छ, त्यसका लागि मभन्दा पनि शक्तिशाली शत्रुको सामना गर्नुपर्ने हुन्छ भनेर लेखिएको थियो । संयोग भनूँ  वा के भनू, यसको केही दिनमा नै सोभियत संघमा जर्मन आक्रमण भयो । यो दास्रो विश्वयुद्धको दौरान सन् १९४१ को कुरा हो । जे होस्, तैमुरलंगको खप्परबाट सोभियत वैज्ञानिक एवं नृतत्ववेत्ता मिखाइल गेरासिमोभले उनको मुखको आकृतिको चित्र बनाए र उनी १७२ सेमी अग्लो र खोच्याएर हिँड्ने गरेको तथ्य पनि यकिन गरियो । 


समरकन्दका प्रमुख आकर्षण भनेकै यहाँ रहेका दरगाह, मकबरा, मदरसा र मस्जिद भवनहरू नै हुन् । मदरसामा तिल्ल्या कोरी मदरसा, उलुकबेक मदरसा र शेर डोर मदरसा प्रसिद्ध छन् । यस्तै गरी यहाँ प्रसिद्ध रहेको मस्जिदमा बिबि खन्याम मस्जिद प्रसिद्ध रहेको छ । 


विश्व मानचित्रमा हेर्ने हो भने काबुलको उत्तरमा ताजिकिस्तानको दुशान्बे रहेको छ भने दुशान्बेको उत्तर पश्चिममा लगभग ३०० किलोमिटरको दूरीमा समरकन्द रहेको छ । काबुलदेखि दुशान्बेको दूरी मानचित्रमा कम देखिएता पनि पहाड मार्ग भएकाले ५४० किलोमिटर जति पर्छ । धेरै जसो ताशकन्द ताशकन्दबाटै रेलमार्गद्वारा समरकन्द पुग्दछन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex