काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तीन महिनाका लागि यस्तो निर्णय गरेको हो ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी संघीय सरकारसँग विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४’ को दफा ३२ को उपदफा १ अनुसार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो घोषणा गरिएको हो ।
त्यसैगरी, उपदफा १ अनुसारको अवधि (तीन महिना) भित्र संकट नहटेमा घोषणाको अवधि थप्न सकिने व्यवस्था पनि ऐनमै छ ।
कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर भूमि धान खेतीयोग्य रहेको छ ।
हालसम्म मात्र १ लाख ७४ हजार ५ सय ८ हेक्टर मा रोपाइँ सम्पन्न भएको छ । जम्मा ४६% रोपाइँ मात्र भएको स्थिति रहेको छ ।
Categorized in राष्ट्रिय