काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी तथा ढल, दूरसञ्चार मर्मत), कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक रहनेछ ।
मादकपदार्थ बिक्रीमा सात दिनअघिदेखि प्रतिबन्ध
आयोगले मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ ।
निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा उक्त व्यवस्था कडाइका साथ लागू गरिने जनाइएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेधित गतिविधि हुन नदिन तथा उल्लङ्घन भएमा तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ ।
प्रचारप्रसार निषेध अवधि लागू
फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृहमन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
साथै निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा अवस्थाको समीक्षा गरी आवश्यक मार्गदर्शन र सिफारिस गरिएको आयोगले जनाएको छ ।
हवाई उडान यथावत
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत सञ्चालन हुनेछन । टिकट भएका यात्रुले विमानस्थल आवतजावतका लागि निजी वा सम्बन्धित एयरलाइन्सद्वारा उपलब्ध गराइने सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सीमानाका ७२ घण्टा अघिदेखि बन्द
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ बमोजिम निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन आयोगले गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मतदानका लागि परिचयपत्र अनिवार्य
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।
मतदाता नामावलीमा नाम भएका मतदाताले उक्तमध्ये कुनै एक परिचयपत्र प्रस्तुत गरेपछि मतदान गर्न पाउनेछन ।
सवारी पास वितरण इकाई स्थापना
आयोगले जारी गरेको सवारीसाधन अनुमति कार्यविधि, २०८२ बमोजिम मतदानको दिन आवश्यक सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा विशेष पास वितरण इकाई स्थापना गरिने भएको छ ।
उक्त इकाईमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि कर्मचारी खटाइनेछन ।
Categorized in राष्ट्रिय