काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मतदाता नामावली संकलन व्यवस्थित गर्न सहयोग गर्ने बताएका छन ।
प्रमुख शाक्यले मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन निर्वाचन आयोगलाई जनशक्ति तथा भौतिक सहयोग उपलब्ध गराउन महानगर तयार रहेको बताए ।
शुक्रवार महानगरको ७२ औं कार्यपालिका बैठकमा यस अघि नामावली संकलन गर्दा वडास्तरबाट गरिएको र यसपटक पनि यसैगरी गर्नुपर्ने कार्यपालिका सदस्यहरुले धारणा राखेपछि प्रमुख शाक्यले सो कुरा बताएका हुन ।
हाल राष्ट्रिय सभा गृहमा महानगरबासी मतदाताको नामावली संकलन भइरहेको छ । अहिले दैनिक १ सय जनाको मात्र नाम संकलन गरिएको छ ।
प्रमुख शाक्यको अध्यक्षतामा बसेको बैठकले महानगरपालिकाको १० औँ नगर सभा पुस २८ गते गर्ने निर्णय गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभा सम्बन्धी व्यवस्था छ । यो ऐनसँगै बागमती प्रदेशको कानून र महानगरको नगर सभा सञ्चालन सम्बन्धी कार्यविधि ०७४ का आधारमा अधिवेसनको मिति तय गरिएको हो ।
बैठकले ‘काठमाडौँ महानगरपालिका संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८’ लाई संशोधनसहित स्वीकृत गरेको छ ।
यसै गरी ‘बाल अधिकार संरक्षण तथा सम्बर्धन सम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।
त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, स्थानीय निर्वाचन २०७४ बाट निर्वांचित भइसकेपछि काठमाडौँ महानगरका नीति र कार्यक्रम निर्विवाद कार्यान्वयनमा आएको बताउँदै संस्थागत र व्यक्तिगत उचाइ बढाउँदै जाने प्रयास भइरहेको बताईन ।
त्यस्तै बैठकमा कार्यपालिका सदस्यहरु मचाराजा महर्जन, नीलकाजी शाक्य, शुद्धकुमार डंगोल, दलबहादुर कार्कीले विविध विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
उनीहरुले नगर सभाबाट जारी भएका ऐन, कार्यविधि र मार्गदर्शन तथा कार्यपालिका बैठकबाट भएका निर्णय कार्यान्वयनको समीक्षा गर्नुपर्ने, ‘काठमाडौँ महानगरपालिका सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने बताएका थिए ।
त्यसैगरी खानेपानी र विद्युत जस्ता भौतिक विकासमा काम गर्ने साझेदारसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, कोविड भ्याक्सिन खोपको विद्युतीय प्रमाणिकरणको चाप व्यवस्थापन गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली संकलन व्यवस्था गर्नुपर्नेलगायत विषय जोड दिएका थिए ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Categorized in स्थानिय