काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि थप ५ दिन म्याद बढाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार पहिले तय गरिएको अवधि समाप्त हुन लागेकाले, बढ्दो सेवाग्राही चाप र सम्बन्धित निकायहरूको सुझावका आधारमा म्याद थपिएको हो ।
‘प्रधानमन्त्री, गृहमन्त्रीसहित सरोकारवाला पक्षहरूले दर्ता अवधि थप्न निरन्तर सुझाव दिइरहनुभएको थियो । मतदाता नामावली दर्ता गर्नेहरूको भीड पनि उच्च रहेकाले हामीले ५ दिन थप्ने निर्णय गरेका हौं,’ भण्डारीले भने।
यसअघि सरकारले ३० कात्तिकसम्म मात्र नामावली संकलन गर्ने निर्णय गरेको थियो ।
तर म्याद बढेसँगै अब ५ मंसिरसम्म देशभरका दर्ता केन्द्रहरूमा गएर नयाँ मतदाता नामावली दर्ता गर्न सकिनेछ ।
आयोगको भनाइअनुसार, विशेषगरी आगामी निर्वाचनलाई ध्यानमा राख्दै बढी नागरिकलाई सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थपिएको हो ।
Categorized in राष्ट्रिय