२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मखन निवासी राजोपाध्याय दिगु तलेजुमा मूल पूजारी नियुक्त


प्रकाशित: आईतवार, ८ चैत्र २०७७, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्याय काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् ।


गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा शनिवार राजोपाध्यायलाई नियुक्त गरिएको हो ।  दिगु तलेजुका सहकाय पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा प्रवेश गराएका थिए । 


दिगु तलेजुका सहायक पूजारी जोशी थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्य्राएका हुन् । सहायक पूजारी मदनराज जोशीको संयोजकत्वमा आज मूल पूजारी भित्य्राउने काम भएको हो । मूल पूजारी सुवेदीले आजैबाट नित्य पूजा पनि शुरु गरेका छन् । 


गत कार्तिक १९ गते दिगु तलेजुका तत्कालीन मूल पूजारी नारायण राज सुवेदी राजोपाध्यायको निधनपछि मूल पूजारी पद रिक्त रहेको थियो । यहाँको पूजा दिक्षा प्राप्त राजोपाध्यायले नै सम्पन्न गर्नुपर्ने भएको हुँदा मूल पूजारी पद रिक्त रहेको थियो । मूल पूजारी नहुँदा यहाँका जोशीहरुबाट पूजा सम्पन्न हुँदै आएको थियो । ‘दिक्षा प्राप्त मूलपूजारी नभएको अवस्थामा समस्या भइरहेको थियो, आफ्नो पुर्खाले धानेको परम्परालाई निरन्तरता दिन आफुले योगदान दिन पाउँदा खुसी लागेको छ’ मूल पूजारी सुवेदीले भने । 


दिगुतलेजु मल्ल राजाहरुकी कुलदेवीको रुपमा लिइन्छ । विगतमा नित्य पूजामा राजाहरु स्वयम् नै उपस्थित रहने भनिएको छ । 


काठमाडौं हनुमानढोकास्थित तलेजु मन्दिरको बाहिर प्रतापमल्लको स्तम्भको ठीक अगाडि श्वेतभैरवको मन्दिरसँगै दिगु तलेजुको प्यागोडा शैलीको ६२ हात उचाइको कलात्मक मन्दिर रहेको छ । 


भाषावंशावलीअनुसार यो मन्दिर राजा शिवसिंह मल्लले बनाएका थिए । पछि वि.सं. १७२७ भाद्रमा राजा प्रतापमल्लले यस मन्दिरमा सुनको छाना र गजुर हाली मन्दिर जीर्णोद्धार गरेका थिए ।


कुलदेवता वा देवीलाई अलग्गै कोठामा राख्ने प्रचलन छ । कुलदेवता रहेको मन्दिरमा जो कोही पस्न नपाइने नियम रहन्छ र कुलदेवता वा देवीको पूजा गुप्त रुपमा गर्ने गरिन्छ । काठमाडौँको दिगुतलेजुकै अनुकरणमा पाटनमा दिगुतलेजु राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ फागुनमा बनाएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex