काठमाडौं । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा आज २८औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।
१९९० साल माघ २ गते तथा त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति भावी पुस्ताले व्यहोर्नु नपरोस भन्ने उद्देश्यका साथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी संयन्त्र बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले अन्तरसरकारी समन्वय बढाउँदै स्थानीय सरकारका प्रयासलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचक कार्यान्वयनमा क्षमता बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समुदाय नै विपदका समयमा पहिलो उद्धारकर्ता हुने उल्लेख गर्नुभयो ।
महानगर विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भूकम्प सम्झनामा मात्र सीमित नभई क्षति हुन नदिने प्रणाली विकास गर्नुपर्ने समय आएको बताउनुभयो ।
“हाम्रा प्राचीन संरचनाले ठूला भूकम्प थेगेका छन्, रैथाने सिपको प्रयोग गरेर प्रतिरोधी संरचना निर्माण गरौँ,” उहाँले जोड दिनुभयो ।
सभामा १९९० सालको ८.४ म्याग्निच्युडको भूकम्पदेखि २०४५ साल उदयपुर, २०७२ साल गोरखा, २०७९ साल डोटी र २०८० साल जाजरकोट भूकम्पसम्मका अनुभव र सिकाइबारे चर्चा गरिएको थियो ।
विगतका भूकम्पले मानव जीवन, संरचना र वातावरणमा पारेको असरको समीक्षा गर्दै सुरक्षित र उत्थानशील सहर निर्माणमा संकल्प व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरका जनप्रतिनिधि, विभागीय प्रमुख तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

यस अवसरमा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा योगदान पुर्याएका सुरक्षाकर्मीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, जवान बिरेन्द्र शाही, पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ र जवान जसबिर शाह तेली रहेका छन ।
विश्व जोखिम सूचीकै आधारमा नेपाल भूकम्पजन्य विपदका दृष्टिले विश्वमा ११औँ स्थानमा रहेको छ ।
Categorized in समाज