काठमाडौं । सरकारको तर्फबाट भिजिट भिसा दुरुपयोगको घटनाहरूको छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा जानकारी गराउँदै समितिलाई ९ बुँदे कार्यादेशसहित गठन गरिएको जानकारी दिएका हुन्।
गृहमन्त्री लेखकका अनुसार अध्यागमन व्यवस्थापन, भिजिट भिसा प्रणाली र त्यसबाट उत्पन्न समस्याहरूको समग्र मूल्यांकन गरेर समाधानका उपायहरू तयार गर्न समिति गठन गरिएको हो।
उनले भने, “तत्काल गर्नुपर्ने सुधारका कामहरू अघि बढाइएका छन्, तर ती मात्रै पर्याप्त छैनन्। विस्तृत अध्ययन र दीर्घकालीन योजना आवश्यक छन्।”
समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधि, तीन महिनाभित्र प्रतिवेदन
छानबिन समितिमा गृह, श्रम, कानुन, परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयका सहसचिवहरू प्रतिनिधिका रूपमा छन्।
समिति ९ वटा प्राथमिक क्षेत्रहरूमा केन्द्रित रहेर अध्ययन, विश्लेषण र सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । तीन महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।
समितिको कार्यक्षेत्र यस्तो छः
१. अध्यागमन तथा भिसा प्रणालीको समस्या पहिचान गरी तत्कालीन र दीर्घकालीन सुधार योजना तयार पार्ने।
२. आवश्यक परे कानुनी, नीतिगत र संरचनात्मक संशोधनका लागि मस्यौदा पेश गर्ने।
३. अध्यागमन विभागको मानव संसाधन र संरचनागत सुधारबारे सुझाव दिने।
४. सरोकारवाला निकायबीच समन्वय अभिवृद्धि गर्न आवश्यक सुधारको सिफारिस गर्ने।
५. अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरी नेपाली सन्दर्भमा लागू गर्न सकिने उपायहरू सुझाउने।
६. भिजिट भिसा तथा अन्य भिसाका दुरुपयोग रोक्न दीर्घकालीन योजना सिफारिस गर्ने।
७. अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, छरितो र पारदर्शी बनाउन सुझाव दिने।
८. विदेश आवतजावतसम्बन्धी निकायहरूको भूमिका स्पष्ट पार्ने र जिम्मेवारी निर्धारण गर्ने।
९. अध्यागमन अभिलेख व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन उपाय सुझाउने।
Categorized in राष्ट्रिय