१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भाषा संरक्षणमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन फलदायी 


प्रकाशित: सोमवार, २१ पुस २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । भारतको नालन्दा खुला विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएको छ ।


सम्मेलनले दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने निष्कर्ष निकालेको हो । 


सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलको बिहार च्याप्टरले अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेसँगको सहकार्यमा आयोजना गरेको सम्मेलन दुई दिनसम्म चलेको थियो ।


सम्मेलनमा पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र नभई मातृभाषा र संस्कृति जोगाउने सशक्त औजार बन्न सक्ने निष्कर्ष निकालिएको छ ।


सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दक्षिण एसियाका पत्रकारहरूबीच मातृभाषा संरक्षणका विषयमा आपसी ज्ञान, सीप र अनुभव आदान–प्रदानमा सम्मेलन केन्द्रित रहेको जानकारी दिनुभयो । 


मातृभाषा लोपोन्मुख बन्दै गएको वर्तमान सन्दर्भमा पत्रकारिताको भूमिकामाथि गहन छलफल भएको सहभागी पत्रकार तथा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितले बताउनुभयो ।


उहाँका अनुसार बहुभाषिक र बहुसांस्कृतिक दक्षिण एसियामा पत्रकारितामार्फत लोप हुँदै गएका, लोप हुने क्रममा रहेका तथा लोपोन्मुख भाषा–संस्कृतिलाई कसरी जोगाउने भन्ने विषयमा गम्भीर विमर्श भएको थियो । 


नेपाली पत्रकारहरूको टोलीसहित नेवाः पत्रकार राष्ट्रिय दबूको सहभागिता यो सम्मेलनमा दोस्रो पटक रहेको आयोजकले जनाएको छ । 


सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशिभूषण कुमारको अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथि पूर्व सिक्किम राज्यपाल गंगाप्रसाद रहनुभएको थियो ।


सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धुकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धु, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 


बिहारमा आयोजित यो चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको जानकारी पनि आयोजकले दिएका छन । 


सम्मेलनको अवसरमा नेपालबाट सहभागी पत्रकारहरूलाई अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्ने पत्रकारहरूमा नृपेन्द्रलाल श्रेष्ठ, राजु नापित, सदाब मलिक, दीपेन्द्र प्रजापति, अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम रहेका छन । 
सम्मेलनपश्चात सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। सो क्रममा नालन्दाको ऐतिहासिक महत्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex