काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा सात जनाको ज्यान गएको छ। देहरादुनबाट केदारनाथतर्फ उडेको हेलिकप्टर रूद्रप्रयाग जिल्लाको गौरिकुण्ड क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्स का अनुसार आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु सवार थिए।
तीमध्ये एक जना बालक समेत रहेको जनाइएको छ। टाइम्स अफ इन्डिया का अनुसार हेलिकप्टर गौरिकुण्ड र त्रिजंगीनारायणबीच पर्ने दुर्गम गाउँमा दुर्घटनाग्रस्त भएको थियो।
उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटना बिहान ५ः२० बजे भएको हो। उत्तराखण्डका प्रहरी महानिरीक्षक राजिव स्वरूपले दुर्घटनाको पुष्टि गर्दै उद्धार टोली घटनास्थलमा परिचालित गरिएको जानकारी दिएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जालमार्फत दुर्घटनाको खबरले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
यसअघि बिहीबार मात्रै भारतकै अहमदाबादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतका लागि उडेको एयर इन्डियाको बोइङ जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो।
Categorized in अन्तर्राष्ट्रिय