काठमाडौं । सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन ।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनमा निधन भएकालाई सहिद घोषणा गर्ने र ती सहिदका परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
यसैगरी, माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि वस्तु वा सेवाको खरिद–बिक्री तथा अन्य कारोबार बैंकिङ च्यानलमार्फत् मात्रै गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको प्रवक्ता खरेलले बताए ।
सरकारका अनुसार नगद कारोबारलाई सीमित गर्दै पारदर्शिता बढाउने उद्देश्यले यो व्यवस्था ल्याइएको हो ।
बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
श्रीलंकामा आएको विपद्–प्रभाव न्यूनीकरणका लागि सरकारले २ लाख अमेरिकी डलर सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
यही बैठकले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का सचिवमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने तथा वैकुण्ठ अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
Categorized in राष्ट्रिय