काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुर नगरवासीलाई एक लाखसम्म विपद् राहत प्रदान गर्ने निर्देशिका पारित गरेका छ ।
नगरपालिकाको विहिवार वसेको एघारौं नगरसभाले नगरपालिका, विपद् पीडितलाई राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको हो ।
नगरपालिकाका प्रमुख एवम एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरुलाई प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण निम्तिने मानवीय तथा धनसम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको छ ।
विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार भौतिक र मानवीय क्षति तथा अंग भंग भएमा क्षतिको अवस्था हेरी बढीमा रु १ लाखसम्म राहत दिन सकिने र पीडित परिवारलाई प्रमुखले क्षतिको अवस्था हेरी रु. २५,००० सम्म दिन सकिने व्यवस्था रहेको छ ।
बैठकको विशेष समयमा देशघाती एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको हुँदा एमसीसी खारेज गर्नुपर्ने, वडा निरीक्षकहरु जिम्मेवारका साथ प्रस्तुत हुनुपर्ने, बिग्रेका सडक बत्तीको मर्मत सम्भार गर्नुपर्ने, खोला सुधारमा विशेष ध्यान दिनुपर्ने, भक्तपुरलाई दिने रसायनिक मलको कोटा वृद्धि गर्नुपर्ने, नयाँ बस्तीमा खानेपानीको उचित व्यवस्थापन हुनुपर्ने विषय उपस्थित वक्ताहरुले उठाएका थिए ।
सभासद्हरु राजेन्द्र माक, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, गंगालक्ष्मी बमनू, रत्नकाजी नायभारी, श्यामसुन्दर मातां, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजु, हेरा ख्याजु, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवाल लगायतको उपस्थिती रहेको थियो ।
नगरसभाको अर्को बैठक फागुन ९ गते सोमबार दिनको १ बजे बस्ने नगरपालिकाले जनाएको छ ।
Categorized in स्थानिय