काठमाडौं । भक्तपुर नगरपालिकिाले सम्पादा क्षेत्र भित्र मंगलवारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।
नगरपालिकाका प्रमुख सुनील प्रजापतिले विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदास्थलको अवलोकनमा आउने पर्यटकलाई सवारीसाधनको अव्यवस्थित पार्किङ, अनावश्यक भीड र हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पु¥याएको तथा पर्यटकलाई तस्बीर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा चार पाङ्ग्रे सवारी साधनलाई रोक लगाउन सुरु गरिएको हो । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाई सुरुवात गरेको हो ।
सवारीसाधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो ।
पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोकायताको चार किलाभित्र बिहान ७ देखि बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
नगरपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकललगायत साधनलाई भने सञ्चालनमा रोक लगाएको छैन ।
यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो ।
Categorized in सम्पदा/संस्कृति