६ भाद्र २०८३, शनिबार
Header

भक्तपुर नगरपलिकाद्धारा ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान माग


प्रकाशित: सोमवार, २ फागुन २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुर नगरपालिकाले ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्न माग गरेको छ ।


सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा भक्तपुर आएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग सो माग गरिएको हो । 


सो अवसरमा मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्न, अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि स्वास्थ्य उपकरण तथा सामाग्रीहरु व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । 


बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयकमा सार्वजनिक, मानित र ट्रष्टअन्तर्गत विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था रहेको हुँदा स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने पनि मुख्यमन्त्री पाण्डेले धारणा राखे ।


मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधि प्रशंसनीय रहेको सुनाए । बागमती प्रदेशअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति दिने योजना अगाडि पनि उनले बताए । 


कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरको संक्षिप्त परिचय तथा विशेषताबारे अवगत गराएका थिए । उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज र अस्पतालबाट प्रवाहित सेवा सुविधाबारे पनि मुख्यमन्त्री पाण्डेलाई जानकारी दिएका थिए । 


आकारले सानो भक्तपुर नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानलाई सार्थकता दिन भक्तपुर नपाले जोड दिँदै आइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका क्रममा रहेको पनि बताए । 


नगर भ्रमणको क्रममा मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन गरे । 


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले मुख्यमन्त्री पाण्डेको भ्रमण उपलब्धीमूलक हुने आशा व्यक्त गर्नुहुँदै प्रदेश सरकारमार्फत सबल स्थानीय तहलाई विकास निर्माणमा आवश्यक सहयोग हुनेमा आशावादी रहेको बताउनुभयो । 


सो अवसरमा नेमकिपा बागमती प्रदेशका सभासद्द्वय सुरेन्द्रराज गोसाईं र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको उपस्थिति थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex