काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताएका छन् ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने,‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं ।’
त्यसैगरी, राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।
वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको उनले जानकारी दिए ।
पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राप्रपाको बैठकले निर्णय गरेको छ ।
पक्राउ परेका पार्टीका नेताहरूको रिहाइ र चैत १५ गतेको घटनाको न्यायिक छानबिनको माग गर्दै राप्रपाले प्रदर्शनका कार्यक्रमहरू अगाडि बढाएको हो ।
17 April 2025, Thursday
Categorized in राष्ट्रिय